खोटाङ । खोटाङको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनामा काहुले मुहान समावेस गर्न लागिएको भन्दै प्रभावित क्षेत्रका स्थानीय विरोधमा उत्रिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला र माझखोलाको मुहानलाई समेट्ने गरी सुरु गरिएको खानेपानी आयोजनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित छेपेखोला नजिकै रहेको काहुले मुहानलाई समेत प्रयोग गर्न लागिएको भन्दै प्रभावित क्षेत्रका स्थानीय विरोधमा उत्रिएका हुन् ।

छेपेखोला काहुले मुहान संघर्ष समितिले शुक्रबार दिक्तेलको किरातचोकस्थित नछुङ होटलमा पत्रकार सम्मेलन गरेर काहुले मुहानको विकल्प खोज्न आग्रह गरेका छन् । विना जानकारी काहुले मुहानको पानी अन्यत्र लैजान खोजिएकाले विरोधमा उत्रनु परेको छेपेखोला काहुले मुहान संघर्ष समितिका संयोजक हर्कबहादुर पराजुलीले बताए ।
काहुले मुहानको पानी अन्यत्र लैजाँदा सो मुहानमा आश्रित सोल्मा र नेर्पाका चार वटा नहर सुक्ने खतरा देखिएको उनीहरुको भनाई छ । स्थानीयका अनुशार काहुले मुहानबाट हाल सोल्मातर्फका पुर्खौली राजकुलो, सोल्मा–दिक्तेल–लफ्याङ नहर, छेपेखोला तलपुङ बेँसीटोल ठूलो कुलो तथा नेर्पातर्फ गौरवको नहर सञ्चालनमा छन् ।
काहुले मुहानलाई शहरी खानेपानी तथा सरसफाई आयोजनामा समावेश गरे सोल्मा र नेर्पाका करिब १० हजार रोपनी जग्गा सिँचाईबाट बञ्चित हुने र एक हजार परिवार विस्थापित हुने खतरा देखिएको संघर्ष समितिका संयोजक पराजुलीले बताए ।
‘काहुले मुहानको पानीलाई अन्यत्र लैजान दिने हो भने करिब १० हजार रोपनीभन्दा बढि जमिन सुक्खा हुने र उत्पादनमा ¥हास आउने खतरा छ,’ संयोजक पराजुलीले भने, ‘यही कारण सोल्मा र नेर्पाका करिब एक हजार घर परिवार विस्थापित हुने र बसाई सर्नुपर्ने देखिन्छ । त्यो अवस्था नआओस भन्ने हाम्रो माग हो ।’
सोल्मा र नेर्पा भौगोलिक हिसावले सुन्दर, बलियो तथा उर्वर क्षेत्र भएकाले भविष्यमा घना वस्ती बिस्तार हुने सम्भावना भएको तर भएका पानी अन्यत्र लगिए भविष्यमा पानीको श्रोतको अभाव हुने देखिएको स्थानीयको भनाई छ ।
स्थानीयको उठिबास नै लगाउने गरी योजना सञ्चालन गर्नुको सट्टा मुहानको विकल्प खोज्नुपर्ने रम्बाखोला माझखोला संघर्ष समन्वय समितिका संयोजक धनीराम राईले बताए ।

‘काहुले मुहान अन्यत्र लैजाने डिजाइन के, कसरी र कसको रोहवरमा गरियो, हामी अन्योलमा छौँ,’ संयोजक राईले भने, ‘काहुले मुहान अन्यत्र लगिए भोलीका दिनमा हामी भोकभोकै मर्नुपर्ने अवस्था आउने छ, त्यो अवस्था नआओस भन्ने हाम्रो माग हो ।’
छेपेखोला र काहुले मुहानको पानी संरक्षणका लागि २०४९ सालदेखि नै बेला–बेलामा आन्दोलन सुरु गरिएको नेर्पाका चित्रबहादुर गुरुङले बताए ।
२०७६ साल माघ ४ गते दिक्तेल शहरी खानेपानी उपभोक्ता समितिसँग गरिएको सम्झौता कार्यान्वयन नभएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
७५ एमएमको पाईपबाट पानी लैजाने सहमती भए पनि माझखोलामा पुरै ड्याम बाँधेर पानी लैजान लागिएको स्थानीय जितराज राईले बताए । स्थानीयको अवरोधका कारण आयोजनाको काम प्रभावित हुने देखिएको छ ।
१८ महिनाभित्र दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एबं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ २०७५ साल चैत १४ गतेदेखि दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको काम सुरु गरिएको हो ।