शुक्रवार, भाद्र २६ गते २०८३

पाथीभरा मन्दिरमा एकै दिन साढे आठ हजार दर्शनार्थी

पाथीभरा मन्दिरमा एकै दिन साढे आठ हजार दर्शनार्थी

रोदिक खबर

१५, कार्तिक २०८०
  • 8.2K
    SHARES
  • पाथीभरा मन्दिरमा एकै दिन साढे आठ हजार दर्शनार्थी

    फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ गरेका छन् । मंगलवार आठ हजार पाँच सय भक्तजन पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका हुन् ।

    चालु आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्नेमध्येको सबैभन्दा धेरै रहेको पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी राजेन्द्र महतले बताए ।

    महतका अनुसार दसैँको नवरात्रदेखि दसैँ अवधिभरमा एकै दिन छ हजार छ सयले मन्दिरको दर्शन गरेको अभिलेख छ । तर मङ्गलबार साढे आठ हजारले पाथीभरा मन्दिरमा पुगेर दर्शन गरेका छन् । दर्शनार्थी बढी भएपछि केही समय मन्दिर दर्शनको लाइन व्यवस्थापनसमेत हम्मे परेको महतले बताए ।

    पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको अगुवाइ र समन्वयमा मन्दिर दर्शन प्रक्रिया सहज बनाउन सहयोगीले भूमिका खेल्दै आएका छन् ।

    दसैँको अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार तीन सय ६८ जनाले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

    दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य याम मानिन्छ । यस वर्ष दसैँपछि भने दर्शनार्थी बढ्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

    पाथीभरा दर्शन गर्न मौसम अनुकूल रहेको, सडकसमेतमा मर्मतसम्भार र स्तरोन्नतिको कार्य चलिरहेको र आउँदा जाँदा समस्या कम हुन थालेपछि तीर्थालु थपिन थालेका हुन् ।

    प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - ०६:३५:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको