बाक्सिला रनिङ गोल्डकपको लोगो । खोटाङको प्रतिष्ठित र सबैभन्दा ज्येष्ठ बाक्सिला रनिङ गोल्डकपको १२ औं संस्करण आगामी फागुनमा हुने भएको छ । आयोजक बाक्सिला फुटबल क्लवको सोमबार बसेको बैठकले आगामी फागुन २ गतेदेखि बाक्सिला रनिङ गोल्डकप सञ्चालन गर्ने निर्णय गरेको हो ।
मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि विगत १९ वर्ष अघि सुरु गरिएको बाक्सिला गोल्डकपको १२ औं संस्करण केपिलासगढी गाउँपालिका ४ बाक्सिला खेलमैदानमा सञ्चालन गरिने बाक्सिला फुटबल क्लवका अध्यक्ष शिबकुमार राईले जानकारी दिए ।
जिल्लामा फुटबल खेलको व्यवसायिक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनका लागि बाक्सिला फुटबल क्लवले गोल्डकप सञ्चालन गर्दै आएको छ । बाक्सिला फुटबल क्लवले जिल्लामा व्यवसायीक रुपमा खेलिरहेका खेलाडीलाई प्राथमिकतामा राखेर आसन्न गोल्ड कपको तयारी सुरु गरेको छ ।
प्रतियोगीतामा जिल्ला फुटबल संघमा आवद्ध चल्तीका क्लवहरुलाई पहिलो प्राथमिकतामा राखेर सहभागी गराइने क्लवका सचिव पवन श्रेष्ठले बताए ।
लिगकम नोकआउट विधिबाट सञ्चालन हुने प्रतियोगीतामा सहभागी टिमलाई सेवासुविधा वापत ५० हजार प्रदान गर्ने निर्णय गरिएको छ । जिल्ला बाहिरका खेलाडी राख्न चाहने टिमले बढीमा चार जना मात्र खेलाडी भित्र्याउन पाउने अध्यक्ष राईले बताए । चन्दाकै भरमा प्रतियोगीता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा प्रतियोगीताको तयारी गरेको हो ।
क्लवको बैठक फुटबल संघका प्रदेश उपाध्यक्ष एबं गाउँपालिका अध्यक्ष समिर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।ग्रामिण क्षेत्रमा फुटबलको व्यवसायीक बिकासको लक्ष्य लिएर २०६१ सालमा स्थापित बाक्सिला फुटबल क्लवले स्थापनाकै वर्षदेखि नै बाक्सिला गोल्डकप सञ्चालन गर्दैआएको छ ।