शुक्रवार, भाद्र २६ गते २०८३

भाइटीका लगाउँदा कता फर्किने ? कुन-कुन रंगका टीका लगाउने ?

भाइटीका लगाउँदा कता फर्किने ? कुन-कुन रंगका टीका लगाउने ?

रोदिक खबर

२९, कार्तिक २०८०
  • 8.0K
    SHARES
  • भाइटीका लगाउँदा कता फर्किने ? कुन-कुन रंगका टीका लगाउने ?

    खोटाङ । जनजिभ्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका…।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ ।

    त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् । तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्तीभन्दा भिन्न छ । शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ ।

    भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । तर कतैकतै परम्पराअनुसार सात रंगका (सप्तरंगी) टीका लगाइदिने चलन पनि छ ।

    भाइटीका लगाउँदा कुन दिशा फर्किने ?

    भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ ।

    यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताए ।

    यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने भएकाले दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्किनुपर्ने उनको भनाइ छ ।

    हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।

    यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका र माला लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

    प्रकाशित मिति :कार्तिक २९, २०८० बुधवार - ०७:१०:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको