खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजार क्षेत्र तथा सार्वजनिक स्थलहरुमा अनावश्यक झुण्ड्याइएको तारहरु १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । नगरले विद्युत, टेलिफोन, इन्टरनेट लगायतका कार्यमा बजार क्षेत्र तथा सार्वजनिक स्थलहरुमा अनावश्यक झुण्ड्याइएका तारहरु नगरले दिएको समयावधिमा नहटाउने कार्यालयको तार काटिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नेपाल दुरसञ्चार प्राधिकरण शाखा खोटाङ, नेपाल विद्युत प्राधिकरण, सुबिसु ईन्टरनेट र टेकमाइण्ड नेटवर्क कम्पनीलाई गत असोज ३० गते अनावश्यक तारहरु हटाउन पत्र लेखी पठाएको थियो । तर, नेपाल टेलिकमको कार्यालयले समयमै नगरपालिकाले दिएको निर्देशन कार्यान्वयन एवम् अनावश्यक तारहरु हटाइ आवश्यक तारहरुमा राखेको लिखित जवाफ पेश गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले बताए ।
टेलिकमले छुटपुट रहेका तारका लठ्ठाहरु अबको १० दिन अर्थात मंसिर १९ गते भित्र व्यवस्थित गर्ने बताएको छ । बजारक्षेत्र तथा सार्वजनिक स्थलहरुमा तारका लठ्ठाहरु झुण्डिएर अशोभनिय देखिनुका साथै करेन्ट लागेर दुर्घटनासमेत हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरले अनावश्यक तारहटाउन निर्देशन दिए पनि सुसिबु ईन्टरनेट,नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र र टेकमाइण्ड नेटवर्कले नगरपालिकाले दिएको निर्देशनलाई वेवास्ता गरेको प्रमुख भट्टराईको भनाइछ ।
“हामीले पटक(पटक मौखिक रुपमा अनावश्यक तारहरु हटाउन सम्बन्धित कार्यालयलाई भनेका थियौं । तरपनि उनिहरुले कार्यान्वयन गरेनन् त्यसपश्चात हामीले लिखित पत्र पठाउदासमेत संम्बन्धित पक्षले वेवास्ता गरेका कारण अब कारबाहीको प्रक्रिया भोलि नै अगाडि बढाउछौं नगरप्रमुख भट्टराई भने–जथाभावी झुण्याइएका तारहरु नगर हटाउँछ । सो बाट लागेको खर्चसमेत संम्बन्धित पक्षबाट नगरपालिकाले अशुल उपर गर्छ ।