खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदानमार्फत सिंचाईगेट–माटिकोरे खेलमैदान जाने सडक बनाउन सुरु गरेको छ । पूरानो सोलिङ भएका कारण भत्केर धराप भएको सडकलाई नगरपालिकाले सोमबारदेखि श्रमदानमार्फत ढलान गर्नेगरी बनाउन थालेको हो । श्रमदानबाट हाललाई ५० मिटर सडक ढलान गरिने जनाईएको छ ।
त्यसका लागि निर्माण व्यवसायी बुईपाका सुनिल राईले ३ लाख बराबरको(२.७ टन) रड, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले १ लाख बराबरको (४५ घनमिटर) गिटी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका वडाध्यक्ष भगेश्वर राईले ४० हजार बराबरको बालुवा, दिक्तेलका निर्माण व्यवसायी जोसेफ रिजालले ७० हजार बराबरको २१ घनमिटर बालुवा र दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलले ३ लाख बराबरको ३०० बोरा सिमेन्ट सहयोग गर्नेछन् ।
जुनै पनि काममा राज्यको मुख ताक्ने सोचाईलाई विस्तारै परिवर्तन गर्न र पूर्खाहरुले चाडबाडमा गर्दै आएको श्रमदान परम्परालाई निरन्तता दिन श्रमदान अभियान चलाईएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । श्रमदान अभियान निरन्तर जारी रहन्छ तर सडक बनाउनलाई कोरा जनशक्तिले मात्रै नहुने भएकाले थप काम गर्न मिस्त्री लगाईने नगरप्रमुख भट्टराईको भनाइछ ।
दैनिक सडक प्रयोग गर्नेहरु र सरोकारवालाहरुको उपस्थितीमा श्रमदानमार्फत बनाईने सडकको गुणस्तरमा कुनै समस्या नै नहुने उपप्रमुख विसन राईले बताए ।
श्रमदानमा नगरपालिकाका नगरप्रमुख भट्टराई, उपप्रमुख राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, वडा नं–३ बाम्राङका वडाध्यक्ष महेन्द्र राई, वडा नं.–४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राई सहित नगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल पत्रकार महासंघ, खोटाङ उद्योग वाणिज्य संघ, रेडक्रस, स्थानीयबासी, दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलका प्रतिनिधि र नेपाल सितोरियो कराते संघका खेलाडी सहभागी थिए ।