काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएकाको अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन्। ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन लगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार हुनसक्ने बताएका छन्।
‘यो वर्षका अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र दिगो विकासका लागि २०३० एजेण्डद्वारा अपाङ्गता भएका व्यक्तिका लागि सबै मानव अधिकारको पूर्ति गर्ने राष्ट्रसङ्घको प्रतिबद्धतालाई बलियो बनाएको छ’, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्। उनले यो ऐक्यबद्धता र प्रतिबद्धतालाई आत्मसात् गर्दै संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर-३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सृजनात्मक कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यो दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रूपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।