खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख बढीको धनमाल जलेर क्षति भएको छ । सार्कीको घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएर शनिबार आगलागी हुँदा जस्तापाताले छाएको तीनतले घर, घरमा भएको नगद एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपूर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपात लगायतका सामग्री जलेर नष्ट भएको हो ।
घर जलेर नष्ट भएपछि आगलागी पीडित सार्की परिवार अहिले जलेको आगलागीबाट ध्वस्त बनेको घर नजिकै रहेको मतानमा बसिरहेको स्थानीय एवम् नेकपा (माओवादी केन्द्र) का युवा नेता अरुण चाम्लिङले बताए । “रामबहादुरको घरमा छोरा÷बुहारी, नातिनातिनी लगायत गरी १८ जनाको संयुक्त परिवार बसोबास गरिहेका छन् । उहाँको कान्छी बुहारी भर्खरै सुत्केरी हुनुभएको छ । दिउँसोको समयमा भएकाले जनको क्षति हुन पाएन”, उनले भने “घर आगलागी भएपछि १५ दिनको सुत्केरीसहित १८ जनाको सार्की परिवार आफ्नै मतानमा बसिरहेका छन् ।
आगलागी पीडित परिवारलाई अहिलेसम्म कसैले सहयोग गरेका छैनन् ।” घर आगलागी भएपछि आफन्तले दिएको ओढ्ने÷ओछ्याउने लिएर मतानमा बास सरिएको आगलागी पीडित रामहादुरले बताए । “घरमा भएका सम्पूर्ण सामग्री जलेर खरानी भयो । ऋण तिर्न भनेर तयार गरेको एक लाख ५० हजार नगद समेत जल्यो । अहिले बस्ने बासकै टुङ्गो छैन । हामी त जसरी पनि बस्थिम् । सुत्केरी बुहारी र नाबालक नातिको बिचल्ली भयो”, उनले भने, “राहतका लागि आज वडा कार्यालय टेम्मा गएर निवेदन दिएको छु । यो बेला सबैले सहयोग गरिदिनुहोला !”
आगलागी पीडित परिवारले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायतका सङ्घ संस्थासँग राहत र पुनःस्थापनाका लागि अपिल गरेका छन् । टेम्माका स्थानीय राजनीतिक दलका नेता तथा सामाजिक अभियान्ताहरुले समेत सामाजिक सञ्जाल फेसबुकमा आगलागीबाट क्षति भएको सार्की परिवारको घर तथा परिवारको तस्वीर राखेर सहयोगको अपिल गरिरहेका छन् ।
टेम्माका आगलागी पीडितका लागि राहत उपलब्ध गराउन रेडक्रससँग समन्वय भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । आगलागी पीडितका लागि भोलि (सोमबार) राहत सामग्री लगेर वितरण गर्ने तयारी गरिएको रेडक्रस खोटाङ शाखाका मन्त्री छत्रकुमार बजिमयले जानकारी दिएका छन् ।
आगलागीको उच्च जोखिममा रहेको खोटाङमा प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत जिल्लाका दशवटै स्थानीय तहमा आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ । अभियानका क्रममा प्रहरीले विद्यालय, हाटबजार, मन्दिर लगायतमा जनचेतनामूलक कार्यक्रम गर्दै आगलागीका घटना हुन नदिन तथा भएमा बच्ने उपायका बारेमा जानकारी दिने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्काले जानकारी दिए ।
विद्युत र ग्याँसको पहुँच नभएका ग्रामीण बस्तीहरूमा टुकी, अँगेनामा बालिएको आगो ननिभाइ छाड्नु आदि कारणले समेत आगलागी भएको पाइएको प्रहरीले जनाएको छ । तर, बजार क्षेत्रका बस्तीहरुमा भएको आगलागीको मुख्य कारण भने विद्युत, ग्याँस सिलिन्डर पड्कनु, ग्याँस लिक हुनु र धूप बाल्ने चलन लगायतका कारण रहेका छन् ।