शुक्रवार, भाद्र २६ गते २०८३

किराँत समुदायको महान पर्व साकेला उधौली सुरु

किराँत समुदायको महान पर्व साकेला उधौली सुरु

रोदिक खबर

१०, पौष २०८०
  • 9.0K
    SHARES
  • किराँत समुदायको महान पर्व साकेला उधौली सुरु

    खोटाङ । प्रकृतिपूजक भनेर चिनिने किराँत समुदायको महान चाड साकेला उधौली आज (मंगलबार) देखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली मनाउने चलन छ । पन्ध दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पूर्खा÷धामीहरुले आज प्रकृतिको पूजा आराधना गरी पर्वको सुरुवात गरेका हुन् ।

    मंगलबारबाट शुरु भएको उधौलीमा  खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी लगायत खोटाङका बिभिन्न ठाँउमा भव्यरुपमा मनाइएको छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदै आएका छन् । अन्नवाली भित्र्याइएको खुसीयाली तथा लेकमा रहेका मानव, जीवजन्तु तथा चराचुरुङ्गी बेसीतिर झर्ने संकेतका रुपमा प्रकृतिपुजक किरात समुदायले मंसिर पूर्णिमाका दिनबाट धुमधामका साथ साकेला उधौली मनाउन सुरु गरेका हुन् ।

    राई, लिम्बू, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल लगायतका समुदायमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुक्ल पूर्णिमाको दिनलाई उधौली चाडका रुपमा मनाउने प्रचलन छ ।

    रीतिरिवाज एउटै भए पनि उधौलीलाई राई समुदायले उधौली, लिम्बू समुदायले चासोक तङनाम, सुनुवारले फोलस्याँदर, याक्खाले चासुवाको रुपमा मनाइरहेका छन् । किरात समुदायमा अन्नबाली छर्ने बेला अर्थात बैशाख पूर्णिमामा उभौली तथा अन्नबाली उठाउने याम मंसिर पूर्णिमामा उधौली मनाउने गरिन्छ ।

    उभौली र उधौलीमा ढोल, झ्याम्टा बजाएर गीत गाउँदै विभिन्न परम्परागत भेषभुषामा जीवजनावर, पशुपंक्षी, चराचुरुङ्गीको नक्कलदेखि खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको लगायतका कृषि कर्मलाई चित्रण गर्दै नाच्ने गरिन्छ । पासबाट धागो काटेको, कपडा बुनेको, सिङ्गारपटार गरेको आदि मानव क्रियाकलापलाई पनि ‘सिली टिप्ने गरिन्छ ।

    उभौली र उधौलीलाई ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ । नदी तथा खोलामा पाइने माछा उँधो (धेरै पानी भएको ठाँउतिर) झर्ने समयलाई उधौलीका रुपमा बुझ्ने गरिन्छ । त्यही उँधोबाट उधौली चाडको नामाकरण गरिएको जानकार बताउँछन् । किरात समुदायको मुख्य चाडको रुपमा रहेको उधौली साकेलालाई न्वागी, साकेवा, साखेवा, साकेन्वा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा लगायतका नामले चिन्ने गरिन्छ ।

    साकेला मनाउनेक्रममा कुखुरा, सुँगुरको साथमा जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँड लगायतका सामग्रीको आवश्यकता पर्छ । नक्छुङले चुलोको पूजा गरेपछि साकेला नाच्न सुरु गरिन्छ ।

    पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङदेखि काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँ ढोलझ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्ने गरेको छ ।

    प्रकाशित मिति :पौष १०, २०८० मंगलवार - २१:३३:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको