• ट्रेण्डिङ:

मनकारी जनप्रतिनिधि, जसले आफूले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिइन

मनकारी जनप्रतिनिधि, जसले आफूले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिइन

रोदिक खबर

१३, पौष २०८०
  • 8.7K
    SHARES
  • मनकारी जनप्रतिनिधि, जसले आफूले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिइन

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-३ बाँसपानीका वडा सदस्य भीमकुमारी राईले आफ्नो सेवा सुविधावापत प्राप्त भएको रकम सामाजिक सेवामा खर्च गरेकी छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रबाट महिला वडा सदस्यमा निर्वाचित भएकी राईले आफ्नो सेवासुविधाबाट प्राप्त भएको रकममा केही रकम थप गरेर वडाभित्रको विद्यालय, आमा समुह, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई प्रदान गरेकी छन् ।

    वडा सदस्य राईले मनकामना आधारभुत विद्यालयलाई ५५ हजार, राष्ट्रिय माबि बाँसपानीलाई १० हजार, १२ वटा आमा समुहलाई पाँचरपाँच हजारका दरले ६० हजार, सिद्ध प्रावि खुवाबुङलाई पाँच हजार, कालिका प्रावि खोक्मालाई पाँच हजार, स्थानीय कलाकार समुहलाई पाँच हजार, महिला स्वास्थ्य स्वयंसेविकालाई चार हजार प्रदान गरेकी छन् । यस्तै, कुर्सी खरिदका लागि अजम्बरी आमा समुहलाई थप १० हजार प्रदान गरेको वडा सदस्य राईले बताईन् ।

    वडा सदस्य राईले बाँसपानीका तीन गाउँघर क्लिनिक र एक खोप केन्द्रलाई १६ थान कुर्सी र चार थान टेवल हस्तान्तरण गरेकी छन् ।यस्तै, ग्याँस्ट्रिकको समस्याका कारण औषधि सेवन गरिरहेका बाँसपानीको छिप्रुङ टोलका बिरामीलाई तातो पानी पिउने व्यवस्थाका लागि चार थान ठूलो थर्मस र दुई थान सानो थर्मस प्रदान गरेकी छन् । नगद हस्तान्तरण तथा जिन्सी खरिदमा मात्रै वडा सदस्य राईले दुई लाख १८ हजार खर्च गरेकी छन् ।त्यसमध्ये १५४ हजार नगद हस्तान्तरण गरेकी हुन् ।

    हरेक वडा सदस्यले सेवा सुविधावापत मासिक सात हजार पाउँछन् । राईले त्यसमा व्यक्तिगत रकम थप गरेर वडाको शैक्षिक संस्था, आमा समुह, गाउँघर क्लिनिक, खोप केन्द्र लगायतलाई सहयोग गरेकी हुन् । आगामी दिनमा पनि राज्यबाट आफुले पाउने सेवा सुविधा सामाजिक हितका काममा खर्च गर्ने वडा सदस्य राईले बताईन् ।

    मैले राज्यले दिएको पैसा नखाने बरु जनतालाई दिने अटोठ लिएकी छु वडा सदस्य राईले भनिन्, आगामी दिनमा सेवासुविधाबाट आमा समुहको उन्नती प्रगतीका लागि सहयोग गर्नेछु ।

    प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - २०:२५:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको