नेर्पामा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता शुरु

नेर्पामा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता शुरु

रोदिक खबर

२३, पौष २०८०
  • 7.9K
    SHARES
  • नेर्पामा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता शुरु

     खोटाङ । नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले आइतबारदेखि शुरु गरेको ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करणमा आयोजक नेर्पा ‘ए’ले विजयी यात्रा शुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको संसारीडाँडास्थित क्लबको आफ्नै खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगितामा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई ट्राइब्रेकरमा ६–५ ले हराउँदै आयोजक नेर्पा ‘ए’ले विजयी यात्रा शुरु गरेको हो ।

    निर्धारित समयमा दुवै टिम (टोली) बाट गोल नभएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । प्रतियोगितामा नेर्पाका गोल रक्षक इन्देश गुरुङ म्यान अफ दि म्याच घोषितभएका हुन् । गुरुङले नगद एक हजारको साथमा मेडल र प्रमाणपत्र हात पारेका छन् ।

    प्रतियोगिताको दोस्रो खेल सोमबार बिहान दश बजेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीबीच हुने आयोजकले जनाएको छ । पहिलो चरणमा हरेक दिन तीन खेल हुने प्रतियोगिताको तेस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ र सोही नगरपालिकाको वडा नं. ९ निर्मलीडाँडाबीच मध्यान्न १२ : ३० बजे हुने जनाइएको छ ।

    जिल्लाका विभिन्न १८ वटा वडाका खेलाडी सहभागी प्रतियोगिताको विजेतालाई नगद एक लाख ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नेर्पा स्पोर्टस क्लब नेर्पाका अध्यक्ष शरद राईले जानकारी दिए । प्रतियोगिताका उपविजेता टिमले नगद  ७५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    ‘खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताका सेमीफाइनलिस्ट दुईवटा टिम ९टोली०ले नगद रु २५/२५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

    प्रतियोगिताका विद्यागत पुरस्कार अन्तरगत सर्व उत्कृष्ट खेलाडीले नगद रु पाँच हजार, बेस्ट कोच (उत्कृष्ट प्रशिक्षक) ले नगद दुई हजार ५००, सर्वाधिक गोलकर्ताले नगद रु चार हजार, बेस्ट डिफेन्डरले नगद दुई हजार ५००, बेस्ट स्ट्राईकरले नगद दुई हजार ५००, बेस्ट मिडफिल्डरले नगद दुई हजार ५००, उदयमान खेलाडीले नगद दुई हजार ५०० र उत्कृष्ट गोल रक्षकले नगद दुई हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव वीरेन गुरुङले जानकारी दिए ।

    अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को नियमअनुसार सञ्चालन गरिएको प्रतियोगिता यही पुस–२८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राई संयुक्तरुपमा उद्घाटन गरेको प्रतियोगिताको समापन प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले गर्ने जनाइएको छ ।

    प्रतियोगिता समापन कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा रहेर नेर्पा र देशका लागि योगदान पु¥याउनुहुने नेर्पाका सातजनालाई सम्मान गरिने आयोजकले जनाएको छ । विद्यावारिधि प्राप्त गर्नुहुने डाक्टर धनप्रसाद सुवेदी र डाक्टर रमेश रिजाल, नेपाल सरकारका सहसचिव उद्धव रिजाल, अधिकृतहरु दीलकुमार खड्का, सीताराम राई र रामकुमार आचार्य तथा एकजना अग्रज खेलाडीलाई सम्मान गर्ने तयारी गरिएको क्लबका अध्यक्ष राईले जानकारी दिए ।

    वि.सं. २०७६ सालमा स्थापना गरिएको नेर्पा स्पोर्टस क्लबले वि।सं। २०७७ सालमा पहिलो संस्करण सञ्चालन गरेको थियो । कोभिड–१९ का कारण अन्य संस्करण सञ्चालन गर्न नपाएको क्लबले आगामी दिनमा अन्य संस्करणलाई निरन्तरता दिने क्लबका अध्यक्ष राईले जानकारी जानकारी दिए ।

    प्रकाशित मिति :पौष २३, २०८० सोमवार - ०९:३२:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको