खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको छ। जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण एवम् अपाङ्गता भएका मानिसहरूसहितको समावेशी समाज निर्माण गर्ने उद्देश्यले गाउँपालिका र करुणा फाउण्डेसन संस्थाबीच बुधबार सम्झौता गरिएको हो ।
कोशी प्रदेश सरकार, दिप्रुङ चुइचुम्मा गाउँपालिका र फाउण्डेसनको संयुक्त लगानिमा सञ्चालन हुने कार्यक्रमका लागि गाउँपालिका प्रमुख लोकेन्द्र राई र फाउण्डेसनका व्यावस्थापक सन्तोष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
आगामी माघ १ गतेदेखि २०८३ पुस मसान्तसम्म अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको बताइएको छ ।
अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका पालिकामा करूणा फाउण्डेसनको लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
कार्यक्रम कार्यान्वयनका लागि दुवै पक्षबाट राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, प्रदेश समितिसँग आवश्यक समन्वय र सहकार्य गर्ने सम्झौता पत्रमा उल्लेख छ ।
यस्तै,अपाङ्गता भएका व्यक्तिहरूको संस्था समूह गठन र उनीहरूको सशक्तीकरण, जनचेतना साथै पहँचयुक्त भौतिक संरचना र वातावरण तय गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघको प्रदेश समिति र गाउँपालिकाका सबै वडामा अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको सहयोग तथा सहजीकरणमा गर्ने, गाउँपालिकाले कार्यक्रम अवधिभर सार्वजनिक भवनहरू तथा स्थलहरूलाई सबैको पहुँचयुक्त बनाउने र आफ्नो पालिकालाई पहुँचयुक्त स्थानीय तह घोषणाको लागि पहलकदमी लिने सम्झौता गरिएको बताइको छ ।
प्रथम पक्षले सम्झौता बमोजिम कार्यक्रमको अवधि सकिएपछि प्रदेश सरकार, संघिय सरकार तथा अन्य साझेदारहरुको सहयोगमा कार्यक्रमलाई निरन्तरता दिने सम्झौता गरिएको छ ।
करुणा फाउन्डेसनका व्यावस्थापक घिमिरेका अनुसार `अपाङ्गता भएका बच्चा जन्मन नदिनकालागि बच्चा जन्माउन इच्छुक दम्पतीलाई फोलि एसिड खान लगाइनेछ । बच्चा जन्मेपछि २९ दिन भित्र स्वास्थ्य परिक्षण गरिनेछ ।
१० वर्ष मुनीका सबै बालबालिकाको हरेक वर्ष स्वास्थ्य परिक्षण गरेर उनिहरुको अवस्था अनुसार स्वास्थ्य र पोषणमा आवश्यक काम गरिने छ ।’
वि.सं. २०७८ को राष्ट्रिय जनगणनाको तथ्यांक हेर्ने हो भने पालिकामा ५१५ जना अपाङ्गता भएका व्याक्ति रहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा फाउन्डेसनले यसअघि हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जन्तेढुंगा गाउँपालिका र बराहापोखरी गाउँपालिकामा सो कार्यक्रम लागू भै सकेको छ भने अन्य स्थानीय तह ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा पनि सञ्चालन गरिने बताइएको छ ।
कार्यक्रममा गाउँपालिका प्रमुख राई, उपप्रमुख अरुणा थापामगर, विभिन्न राजनीति दलका प्रतिनिधि, करुणा फाउन्डेसनका व्यावस्थाक घिमिरे, वडाध्यक्षहरु, वरिष्ठ अधिकृत गिता त्वानावासु, पालिका संयोजक अभिषेक ठाकुर, अपाङ्ग सेवा संघ गाउँपालिका समितिका अध्यक्ष भुपराज कट्वाल लगायतको उपस्थित थियो ।