खोटाङ । खोटाङको रावाबेंशी गाउँपालिकाले दश जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । नेपाली नागरिकताको आधारमा गाउँपालिकाभित्र ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत खार्पा र लामिडाँडाका दश जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकोे हो ।
२२ भदौबाट सुरु गरिएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आईतबार रावाबेंशी गाउँपालिका–२ खार्पाका छ जना र वडा नम्बर ३ लामिडाँडाका चार जना ज्येष्ठ नागरिकहरुलाई दोसल्लाओढाएर जनही ५५ हजार नगद प्रदान गरिएको गाउँपालिकाका कम्प्युटर अपरेटर नर बहादुर श्रेष्ठले जानकारी दिए ।

खार्पा वडा कार्यालयको प्राङगणमा रावाबेंशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले ९० वर्षीया पबिना थापा, ९१ वर्षीय धन बहादुर मगर, ९१ वर्षकै भिम बहादुर राई, ९२ वर्षीय सहध्वज राई, ९३ वर्षीय डम्बर बहादुर मगर र ९६ वर्षीया मिनी मगरलाई दोसल्ला ओढाई सम्मान वापत पाउने नगद हस्तान्तरण गरेका छन् ।
यस्तै, लामिडाँडाका ९१ वर्षीय राम प्रसाद भट्टराई, ९२ वर्षीय पदम बहादुर श्रेष्ठ, ९५ वर्षीय मान बहादुर मगर र ९८ वर्षीया शुभद्रा परियारलाई पनि दोसल्ला ओढाई सम्मान वापत पाउने नगद हस्तान्तरण गरिएको छ ।
लामिडाँडाका ९१ वर्षीय रामप्रसाद भट्टराईलाई भने उहाँकै घरमा पुगेर सम्मान गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । गाउँपालिका अध्यक्ष निरौलाले भने, “हिड्डुल गर्न नसक्ने दुईजना अशक्त ज्येष्ठ नागरिकहरुलाई उहाँको घरैमा पुगेर सम्मान गरेका हौं । यसअघि दुवेकोलका ९४ वर्षीय राजबहादुर गुरुङलाई पनि उहाँकै घरमा पुगेर सम्मान गरिएको थियो ।

यसअघि हौंचुरका ९४ वर्षीय लोक बहादुर श्रेष्ठ, ९१ वर्षीया फुर्दिकी शेर्पा, ९० वर्षीया ईन्द्रकुमारी कार्की, ९० वर्षीय कटक बहादुर बरुवाल, कुभिण्डेका ९८ वर्षीय खुसमान राई, ९५ वर्षीय हर्कराज राई, डुम्रेधारापानीका ९१ वर्षीय गंगा बहादुर मगर, ९१ वर्षीया नन्दमाया रिजाल, ९३ वर्षीय जगत बहादुर मगर, ९२ वर्षीय रुकमिडा खड्का, ९१ वर्षीया हस्तमाया मगर, १ सय वर्षीय ल्वाङ बहादुर तामाङ, दुबेकोलका ९० वर्षीया नरमाया भुजेल, ९१ वर्षीया तिल कुमारी सार्की, ९२ वर्षीया धनकुमारी निरौला, ९२ वर्षीय समरजीत घले र ९३ वर्षीय मेख बहादुर गुरुङलार्ई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।