खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले आफुबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने उजुरीकर्तालाई फूलमाला लगाई दिएर सम्मान गरेका छन् ।
एक ठेकेदारका लागि दिक्तेलस्थित विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिबाट उधारोमा निर्माण सामग्री निकाल्न नगरप्रमुख तीर्थराज भट्टराई जमानी बसेका थिए तर ठेकेदारबाट ६ महिना बित्दा समेत भुक्तानी नभएपछि आफुबिरुद्ध प्रशासनमा उजुरी दिने विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिका सञ्चालक अभिषेक कर्णलाई नगरप्रमुख भट्टराईले फूलमाला लगाइदिएर धन्यवाद ज्ञापन गरेका छन् ।
उजुरी दिने कर्णलाई आइतबार नगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनकाबीचमा नगरप्रमुख भट्टराई र उपप्रमुख बिसन राईले फूलमाला लगाइदिएका थिए । नगरप्रमुख भट्टराईले दिक्तेल आहाले (१०.९७४ किलोमिटर) सडक कालोपत्रेको ठेक्का लिएको याक्थुङहाङ/साप/सिरुवा जेभीका शिव चौंलागाईका लागि विवेक मर्केन्डाइज एण्ड कन्सल्टबाट उधारोमा १५ लाखको निर्माण सामग्री निकाल्न जमानत बसेका थिए ।
ठेकेदारले भुक्तानी नदिएपछि व्यवसायी कर्णले नगरप्रमुख भट्टराई विरुद्ध पुस २२ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । मेरो व्यक्तिगत चेक दिएपछि मात्रै सामान दिन तयार भएकाले सोही बमोजिम मैले विकास निर्माण र नागरिक हितका लागि आयोजना नै सम्पन्न नगरी फर्किन लागेको अवस्थामा व्यक्तिगत चेक दिएर आयोजना बचाएको थियो, नगरप्रमुख भट्टराईले भने, व्यवसायीले १० दिनका लागि उधारो दिएको तर ६ महिनासम्म भुक्तानी नपाएर भौतारिँदाको अवस्थामा नगरप्रमुख विरुद्ध प्रशासनमा उजुरी दिनुभएकोमा सम्मान गर्न चाहन्छु ।
लोकतन्त्रको सुन्दर पक्ष भनेकै सानो ठूलो सबैले न्याय पाउनुपर्छ र अन्याय गर्ने जुनसुकै तहको होस् दण्डको भागिदारी हुनुपर्छ । यस घटनाबाट अन्याय गर्ने सबैले दण्डित हुनुपर्छ भन्ने पुष्टि गरेको छ । नगरप्रमुख भट्टराईले १० दिनभित्र भुक्तानी हुनेगरी गत असार ९ गते ठेकेदारकोतर्फबाट विवेक मर्केन्डाइज एण्ड कन्सल्टको नाममा १५ लाखको आफ्नै खाताको चेक काटिदिएर जमानी बसेका थिए ।
सहयोग गर्दा आफु विरुद्ध प्रशासनमा उजुरी परेपछि नगरप्रमुख भट्टराईले पनि पुस २३ गते याक्थुङहाङ÷साप÷सिरुवा जेभीका चौंलागाई विरुद्ध गृहमन्त्रालयमा उजुरी दिएका थिए ।
गृहमन्त्रालयमा उजुरी पर्ने वित्तिकै चौंलागाईले विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिको बाँकी रकम भुक्तानी गरिसकेको छ । याक्थुङहाङ/साप/सिरुवाले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक डिबिएसटी कालोपत्रेको सम्झौता गरेको थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रे सक्नेगरी सडक कालोपत्रेको ठेक्का लागेको थियो । तर कालोपत्रेको काम अलपत्र छ । दिक्तेल आहाले सडक दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुनेछ ।