खोटाङ । सिर्जना अभियान समाज भक्तपुर र हाम्रो लघुकथा केन्द्र, नेपालले लघुकथाकार विवेक शर्मा गौतमको लघुकथासंग्रह ‘जेई’ को लोकार्पण गरेको छ । लघुकथाकार गौतमकी आमाको वार्षिक पुण्य तिथिको अवसर पारेर जेई कृति लोकार्पण गरिएको हो ।
हाम्रो लघुकथा केन्द्र, नेपालका संस्थापक लता केसी, केन्द्रका उपाध्यक्ष वरिष्ठ समालोचक डा. शेखरकुमार श्रेष्ठ, सिर्जना अभियान समाज, भक्तपुरका सचिव एवम् वरिष्ठ आख्यानकार ध्रुव मधिकर्मी, समालोचक मनिषकुमार शर्मा समित, हाम्रो लघुकथा केन्द्र, वाग्मती प्रदेशका अध्यक्ष इन्दिरा चापागाईं, स्वतन्त्र लघुकथा वाचनका सञ्चालक निर्मला बराल, लघुकथा सौन्दर्यका संस्थापक श्रीराम राई लगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए ।
हाम्रो लघुकथा केन्द्रका उपाध्यक्ष एवं वरिष्ठ समालोचक डा। श्रेष्ठले जेई लघुकथासंग्रह पठनीय र संग्रहनीय भएको बताए । उनले शर्माको कृतिले लघुकथा वृत्तमा लघुकथाको गरिमा बढाएको पनि बताए ।
त्यस्तै समालोचक मनिषकुमार शर्मा समितले लघुकथा विधामा फेरि एउटा सन्तान जन्मिएको बताउँदै उनका कृतिले पाठकको मनमुटुमा बस्न सफल भएको र नयाँका लागि कृति प्रेरणादायी भएको बताए ।
उक्त लोकार्पण कार्यक्रममा कृतिभित्रबाट मिसु थपलिया श्रेष्ठले संकल्प र विरेन्द्र मालाकारले सभ्यता शीर्षकको लघुकथा वाचन गरेका थिए ।
सिर्जना अभियान समाज, भक्तपुरका सचिव तथा कार्यक्रमका सभाध्यक्ष ध्रुव मधिकर्मीले दीप प्रज्वलन गरेर तथा लघुकथा गान बजाएर सुुरु भएको कार्यक्रममा लघुकथाकार इन्दिरा चापागाईंले स्वागत मन्तव्य दिएकी थिइन् भने लघुकथाकार मन्दिरा चापागाईंले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
कार्यक्रमका अध्यक्ष तथा वरिष्ठ आख्यानकार ध्रुव मधिकर्मीले संस्थाहरू बिचमा सहकार्य आवश्यक भएकाले एक आपसमा सहयोग र सद्भावको विकास गराउन हाम्रो लघुकथा केन्द्र नेपालसित सहकार्य गरेर कार्यक्रमको आयोजना गरेको बताए ।
लोकार्पित कार्यक्रममा अञ्जु शर्मा, अप्सरा पोखरेल, प्रशंसा खनाल जोशी, रमेश सुवेदी, रामराजा केसी, रेहित सैंजू, गंगा शर्मा, सदीक्षा दाहाल, शान्ता तिम्सिना लगायत धेरै जनाको उपस्थिति रहेको थियो ।
रुकुम पूर्व, सिस्ने गाउँपालिकामा २०२१ फागुनमा जन्मिएका लघुकथाकार गौतम अमेरिकामा बस्दै आएका छन् । उनले फेसबुक लाइभमार्फत कार्यक्रमका आयोजक एवं सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले समसामयिक विषयबाट प्रेरित भई लघुकथा लेखेको बताए ।
कविता, निबन्ध, संस्मरण,नियात्रा जस्तो साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् । उनका यसअघि २०६४ मा विज्ञानको चमत्कार (बालसाहित्य) कृति प्रकाशित छ ।