खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले विश्व विद्यालय अनुदान आयोग (युजिसी) बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए) को मान्यता प्राप्त गरेको छ । क्यूएए प्राप्तीका लागि २०७१ सालदेखि प्रयास थालेको दिक्तेल बहुमुखी क्याम्पसले यस वर्ष विश्व विद्यालय अनुदान आयोगबाट क्यूएएको प्रमाणपत्र प्राप्त गरेको हो ।

विश्व विद्यालय अनुदान आयोगको बोर्डले गत पुस १९ गते क्यूएए प्रदान गर्ने निर्णय गरेको हो । क्याम्पसलाई आयोगले माघ १२ गते क्यूएएमा प्रत्यायनकृत भएको प्रमाणपत्र प्रदान गरेको दिक्तेल बहुमुखी क्याम्पसका प्रमुख हिराकुमार राईले बताए ।
क्यूएए प्रदान गर्नका लागि विश्व विद्यालय अनुदान आयोग इजुकेसनल क्वालिटी एसुरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यु टिमले गत जेठ २८ गतेदेखि असार १ गतेसम्म दिक्तेल क्याम्पसमा फाइनल एसेसमेन्ट गरेको थियो । क्यूएएको प्रमाणपत्र प्राप्त गरेसँगै दिक्तेल बहुमुखी क्याम्पस क्वालिटीको उच्च शिक्षा प्रदान गर्न योग्य पूष्टि भएको छ ।
२०३७ सालमा स्थापना गरिएको क्याम्पसले क्यूएए प्राप्तीका लागि २०७६ सालमा स्वअध्ययन प्रतिबेदन बुझाएको थियो । २०३७ सालमा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वबिद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो । जिल्लाकै ज्येष्ठ र अग्रणी दिक्तेल क्याम्पसमा खोटाङ बाहेक ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने गरेका छन् ।
