खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित हाँटडाँडामा भएको दुईदिने कृषि तथा पशु मेला प्रदर्शनीमा ७२ जना कृषक सम्मानित भएका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङ, कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा सोमबार र मंगलबार भएको कृषि तथा पशु मेला प्रदर्शनीमा कृषकहरु सम्मानित भएका हुन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेज प्रकास जैंशीका अनुसार विधागत रुपमा वालीतर्फका १३ र पशु विधागरी ४२ जना प्रथम, दोश्रो र तेश्रो तथा सहभागी अन्य २९ जना कृषक गरी ७२ जना कृषक सम्मानित भएको छ।
वालीतर्फ प्रथम हुने २ हजार ५००, दोश्रोले २ हजार, तेश्रोले १ हजार ५००, भैसीतर्फ प्रथम हुनेले ३ हजार, दोश्रो हुनेले २ हजार ५०० र तेश्रो हुनेले २ हजारसहित घाँस काट्ने औजार पाएका छन्।
बाख्रातर्फ प्रथम हुनेले ३ हजार, दोश्रोले २ हजार ५००, तेश्रोले २ हजार नगद पुरस्कार र कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी अन्य २९ जनाले कृषकले यातायात खर्च र प्रमाणपत्र पाएका छन्।
प्रदर्शनीमा कृषि वालीतर्फ १२० किसिमका कृषि उपज दर्ता भएका थिए । पशुतर्फ माउ भैंसी र माउ बाख्रा दर्ता भएका थिए । कृषकहरुलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गतका विभिन्न वडाका वडाध्यक्षहरुले पुरस्कार वितरण गरेका थिए।