खोटाङ । नेपाल प्रेस युनियन जिल्ला कार्य समिति खोटाङले उपचारका लागि सिफारिस गरेका खोटाङका पत्रकारहरुले केएमसी अस्पताल काठमाण्डौमा ५० प्रतिशत छुट पाउने भएका छन्।
नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाई र काठमाण्डौ मेडिकल कलेज प्रालिका कार्यकारी अध्यक्ष सोइना शर्मावीच बिहीबार औषधि, इम्प्लाण्ट लगायतका सामाग्रीहरु बाहेक विविध सेवामा ५० प्रतिशत छुट पाउनेगरी दुई पक्षीय सम्झौता भएको हो ।
सम्झौता पत्र नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा र प्रेस युनियन खोटाङका अध्यक्ष चौलागाईले दिक्तेलमा साटासाट गर्दै एक वर्षका लागि उक्त छुट हुने जानकारी दिईएको छ।
स्वास्थ्य युनियनको सिफारिसमा गएका पत्रकारको स्वास्थ्य बीमा अथवा विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत भएको खण्डमा सोही अनुसार तथा त्यसको अवधि सकिएको खण्डमा सम्झौता अनुसारको सेवा उपलब्ध हुने जनाइएको छ । सेवा प्राप्तिका लागि प्रेस युनियन खोटाङले जिल्लामा क्रियाशील पत्रकारहरुको नामावली काठमाडौँ मेडिकल कलेजलाई उपलब्ध गराउनुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

केएमसीले उपलब्ध गराउने भनिएको छुटको व्यवस्था एक वर्षका लागि मात्र हुने सम्झौतापत्रमा उल्लेख छ । दिक्तेलस्थित होटल थ्री ब्रदर्शमा आयोजित सम्झौतापत्र आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेस भोजपुरका सभापति एवम् प्रदेश सांसद विनोद बान्तवा राई, धनकुटा सभापति दिनेश राई, मोरङका प्रतिनिधिसभा सदस्य मानबहादुर लिम्बू, नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।