• ट्रेण्डिङ:

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ल्यायो कृषि एम्बुलेन्स सञ्चालनमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ल्यायो कृषि एम्बुलेन्स सञ्चालनमा

रोदिक खबर

२१, माघ २०८०
  • 9.3K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ल्यायो कृषि एम्बुलेन्स सञ्चालनमा

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषि उपज निःशुल्क ढुवानी गरेर बजारसम्म पु¥याइदिने उद्देश्यका साथ नगरपालिकाले आज (आइतबार) देखि औपचारिकरुपमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

    नगरपालिकाले पहिलो दिन वडा नं। ११ खार्मीस्थित ‘सोती बहुउद्देश्यीय कृषक समूह’ले उत्पादन गरेका कृषि उपज निःशुल्क ढुवानी गरिएको छ । शुभम् फाउण्डेशनले निःशुल्क उपलब्ध गराएको बोलेरो पिकअप भ्यानमार्फत कृषि एम्बुलेन्स सेवा दिन शुरु गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए ।

    कृषि एम्बुलेन्समार्फत खार्मीबाट पहिलो पटक ८०० केजी बन्दा कोभी ढुवानी भएको छ । प्रतिकेजी ३० मा बिक्री भइरहेको बन्दा कोभी दिक्तेल बजारका विभिन्न ठाउँमा सञ्चालित तरकारी बिक्री केन्द्रले खरिद गरेका छन् ।

    नगरपालिकाले शुरु गरेको कृषि एम्बुलेन्स लिएर नगर प्रमुख तीर्थराज भट्टराई, नगर उपप्रमुख विशन राई, कृषि शाखा प्रमुख जैसी, शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सूर्यबहादुर राई लगायत खार्मी पुगेका थिए । आफूले उत्पादन गरेका कृषि उपज बिक्री गर्नका लागि ढुवानी गर्न नसक्दा कतिपय कृषक निरास भइरहेको अवस्थामा नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउनुलाई निक्कै महत्वका साथ हेरिएको छ ।

    कृषि एम्बुलेन्स सञ्चालनका लागि यस वर्षका लागि यस वर्ष नगरपालिकाबाट दश लाख बजेट विनियोजन गरिएको नगर उपप्रमुख राईले जानकारी दिए । “हामीले कृषिलाई पहिलो प्राथमिकता दिएका छौँ । गाउँगाउँमा कृषक समूहहरु गठन गरिएको छ ।

    कृषक समूह आवद्ध तथा व्यक्तिगत रुपमा कृषि पेशा अपनाएका कृषकलाई नगरपालिकाको तर्फबाट बीउ तथा बेर्ना निःशुल्क उपलब्ध गराउँदै आएछौँ”, उनले भने, “कृषकले उत्पादन गरेका कृषि उपज खेर जाँदैन । उहाँहरु आफै बिक्री गर्नुहुन्छ भने, ढुवानी गरिदिन्छौँ । यदि, उहाँहरुले आफूले उत्पादन गरेका कृषि उपज बिक्री गर्न नसकेको खण्डमा बजारमा चलेको बजार भाउअनुसार हामी आफै खरिद गर्छौँ । यसले कृषकलाई हौसला मिलेको अनुभूति गरेका छौँ ।”

    १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हावापानी र भूगोलअनुसार ब्लक बनाएर कृषिलाई व्यवसायीकरण गर्ने तयारी गरेको छ । परीक्षणका लागि बन्दाकोभी, फूलकोभी, ब्रो काउली, प्याज, धनिया, लसुन, खुर्सानी, सिमी, बोडी लगायतका तरकारीको बीउ तथा बेर्ना निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

    नगरपालिकाले यो आर्थिक वर्ष तीन लाख कफीको बेर्ना, ७० लाख प्याजको बेर्ना, ४० हजार किवीको बेर्ना र चार लाख बराबरको लसुनको बीउ वितरण गरिने जनाइएको छ । केरा पकेट क्षेत्र अन्तरगत छ लाखको कार्यक्रम पनि यसै वर्ष लागू गरिने कृषि शाखा प्रमुख जैसीले जानकारी दिए ।

    जिल्लाको सबैभन्दा ठूलो १५ वडा रहेको यो नगरपालिकाले ‘उत्पादनमा नगर उपप्रमुख’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नगरसभाबाट पारित उत्पादनमा नगर उपप्रमुख कार्यक्रमका लागि यो वर्ष ४० लाख बजेट रहेको नगरपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :माघ २१, २०८० आइतवार - १६:५१:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको