• ट्रेण्डिङ:

रावा बेसी गाउँपालिकामा प्रशासनिक भवन शिलान्यास

रावा बेसी गाउँपालिकामा प्रशासनिक भवन शिलान्यास

रोदिक खबर

२२, माघ २०८०
  • 8.9K
    SHARES
  • रावा बेसी गाउँपालिकामा  प्रशासनिक भवन शिलान्यास

    खोटाङ । खोटाङको रावा बेसी गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्न सुरु गरेको छ । करीब ५ करोड लागतमा निर्माण हुने भवन सोमबार पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले शिलान्यास गरेका हुन् । यस अघि गाउँपालिका ट्रस्ट भवन निर्माण गरेर सञ्चालन भइरहेको थियो । ४ करोड ७६ लाख १६ हजार ७ सय ९० रुपैयाँ ३६ पैसा लागतमा सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरिएको हो । उक्त भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने गाउँपालिकाले जनाएको छ ।

    हाल गाउँपालिका सञ्चालन भइरहेको ट्रस्ट भवन भत्काएर सोही ठाउँमा सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरिएको हो । ट्रस्ट भवन भत्काइएपछि सभाहलको लागि निर्माण गरिएको भवनमा कोठा बारेर गाउँपालिका सञ्चालन गरिएको छ ।

    स्वास्थ्य शाखा भने नजिकै ब्यक्तिको घरको एक कोठा भाडामा लिएर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले जानकारी दिए । ३० महिनामा सक्ने गरी एसई धुम एमकेएस जेभीले भवन निर्माणको जिम्मा लिएको छ ।

    भवन निर्माणको लागी जेभीले गत असोज २१ गते सम्झौता गरेको थियो । सोमबार शिलान्यास गरिएको भवन निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ । गाउँपालिकाको ४० प्रतिशत र संघ सरकारको ६० प्रतिशत लागतमा भवन बन्न लागेको अधिकृत रेग्मीले बताए ।

    देश संघीय संरचनामा गएसँगै साविको कुभिण्डे, खार्पा, लामिडाँडा, डुम्रेधारापानी, दुवेकोल र हौँचुर गाउँ विकास समितिलाई समेटेर एउटा स्थानीय तह घोषणा गरिएको थियो ।

    उक्त ६ गाविस समेटेर छुट्टै स्थानीय तह निर्माणका लागि वर्तमान गाउँपालिका अध्यक्ष श्रेष्ठ लगायतको टोलीले अनसन बस्नेसम्मको आन्दोलन गरेका थिए । त्यसपश्चात छुट्टै स्थानीय तह घोषणा गरिएको थियो ।

    सुरुमा खार्पा केन्द्र र लामिडाँडा गाउँपालिका तोकिएपछि सबै नागरिकलाई पायक नपर्ने भन्दै कुभिण्डे, हौँचुर, दुवेकोल र डुम्रेधारापानीका नागरिकहरु आन्दोलनमा उत्रिएका थिए ।

    केही समय पछि निर्वतमान गाउँपालिका अध्यक्ष लिलानाथ निरौला नेतृत्वको कार्यापालिकाको निर्णयले गाउँपालिकाको नाम रावा बेसी तोक्दै केन्द्र कुभिण्डेको हरमटारमा सारेका थिए ।

    सुरुमा हरमटारमा ब्यक्तिको घर भाडामा लिएर गाउँपालिका सञ्चालन गरिएको थियो । केही समय पश्चात गाउँपालिकाले निःशूल्क जग्गा प्राप्त गरेसँगै ट्रष्ट भवन निर्माण गरेर गाउँपालिका सारिएको थियो ।

    हाल हरमटारमा कर्मचारी निवास, सभाहल र चिस्यान केन्द्र गरी तीन वटा भवन निर्माण भइसकेका छन् । तत्कालको लागि कर्मचारी निवासमा राष्ट्रिय वाणिज्य बैंक र ५ शैयाँको अस्पताल सञ्चालन गरिएको छ ।

    गाउँपालिकाको केन्द्र हरमटार सारिएको विरुद्धमा अदालतमा मुद्दासमेत परेको थियो । त्यसपछि गाउँपालिकाको केन्द्रको विषयमा लामो समय पुनः विवाद भयो ।

    पालिकाको केन्द्रको विषय राजनीतिक दलहरुको चुनावी एजेण्डासमेत बन्ने गरेको थियो । तर गत जेठमा सर्वोच्च अदालतले पालिकाको केन्द्र हरमटारनै कायम रहने गरी फैसला गरेपछि विवाद टुंगिएको छ ।

    हरमटारमा पालिका केन्द्र भएसँगै हाल बस्तीहरु बस्न  थालेका छन् । सुरुमा सुनसान रहेको रहमटारमा बिस्तारै बस्ती बाक्लिदै गएको छ । हरमटारमा प्रहरी चौकीसमेत राखिएको छ ।

    प्रकाशित मिति :माघ २२, २०८० सोमवार - २०:१०:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको