खोटाङ । वराहपोखरी गाउँपालिकाको नाम संशोधनका लागि कोशी प्रदेश सरकारले केन्द्रीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वराहपोखरी गाउँपालिकाको नाम संशोधन गरेर बाराहापोखरी बनाउन सिफारिस गरेको आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका प्रवक्ता शमशेर राईले जानकारी दिए ।
स्थानीय सरकार कार्यान्वयनमा आएको छ बर्षपछि गत पुस–२१ गते भएको १४ औँ गाउँसभाले वराहपोखरीलाई फेरेर बाराहापोखरी गाउँपालिका नाम राख्ने निर्णय गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम गाउँसभाले गाउँपालिकाको नाम फेर्नका लागि प्रदेश सरकारमार्फत नेपाल सरकार समक्ष सिफारिस गरेको हो ।
स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिमार्फत बाराहापोखरी नाम सिफारिस गरिएको भए पनि ‘टाइप मिस्टेक वा नियतवस’ गाउँपालिकाको नाम बिग्रेर आएका कारण बाराहापोखरी कायम हुनेगरी सिफारिस गरिएको गाउँपालिका अध्यक्ष शालिरकराम बञ्जराले बताए ।
धार्मिक तथा पर्यटकीयस्थल बाराहापोखरीको नामबाट गाउँपालिकाको नामाकरण गरिएको थियो । तर, बराहपोखरी नाम कायम भएपछि आलोचना हुँदै आएको थियो ।
यस्तै, बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन स्थानान्तरणका लागि केन्द्रीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
कानेपोखरीको भवन वडा नम्बर–६ बाट ५ नम्बरको बंशाबारीमा सार्नका लागि गाउँसभाबाट बहुमतले निर्णय भएको र अदालतबाट पनि फैसला भएकाले स्थानान्तरणका लागि केन्द्र सरकारमा सिफारिस गर्ने निर्णय प्रवक्ता राईले जानकारी दिए।