• ट्रेण्डिङ:

शहीद शीर्षकको कविता प्रतियोगितामा सुशिला तिम्सिना प्रथम

शहीद शीर्षकको कविता प्रतियोगितामा सुशिला तिम्सिना प्रथम

रोदिक खबर

१, फाल्गुण २०८०
  • 11.0K
    SHARES
  • शहीद शीर्षकको कविता प्रतियोगितामा सुशिला तिम्सिना प्रथम

    खोटाङ । खोटाङको दिक्तेलमा आयोजना गरिएको खुल्ला जिल्ला स्तरीय कविता प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी सुशिला तिम्सिना प्रथम भएकी छन् । २९ औँ ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ खोटाङले जनयुद्ध दिवसको अवसर पारेर मङ्गलबार दिक्तेलमा आयोजना गरेको ‘शहीद शीर्षक’को खुल्ला कविता प्रतियोगितामा १४ जना प्रतियोगीलाई पछि पार्दै तिम्सिनाले प्रथम भएकी हुन् ।

    दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी हमिता विश्वकर्मा द्धितीय र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ज्ञानदीप चाम्लिङ तृतीय भए भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका धनिराम राई र सोही नगरपालिका–२ सोल्माका अमर श्रेष्ठ सान्त्वना भएका छन् ।

    प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने कवि तथा कवयत्रीलाई क्रमशः नगद ् सात हजार, पाँच हजार, तीन हजार र एक हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजक दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेश राईले जानकारी दिए ।

    प्रतियोगिताका विजयी कवि तथा कवयत्रीलाई साहित्यकार एवम् कवि नरेन्द्र निर्भिकारले नगदसहितको पुरस्कार हस्तान्तरण गरेका थिए। साहित्यकारहरु रामबिक्रम थापा, एमसी सुमित र रेखा राई ‘क्षितिज’ निर्णायक रहेको प्रतियोगिता समापन कार्यक्रममा ‘सुन्ने–सुनाउने’ कार्यक्रमसमेत राखिएको थियो ।

    कार्यक्रममा साहित्यकार एवम् कवि नरेन्द्र निर्भिकार, रामबिक्रम थापा, एमसी सुमित, रेखा राई ‘क्षितिज’, कृष्ण बुढाथोकी, रोशनकिशोर राई, ओमप्रकाश घिमिरे, भीम राई लगायतले आ–आफ्नो साहित्य सिर्जना प्रस्तुत गरेका थिए ।

    यसैबीच, जनयुद्ध दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) को भातृ सङ्गठन योङ कम्युनिष्ट लिग ९वाईसिएल० खोटाङले जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

    अस्पतालमा उपचाररत १३ जना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै स्याउ, केरा, अङ्गुर, सुन्तला लगायत विभिन्न प्रकारका फलफूल वितरण गरिएको वाईसिएल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर नगर समितिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

    वाईसिएल जिल्ला कार्यसमिति खोटाङले जिल्लावासी सम्पूर्णलाई मङ्गलबार साँझ आ–आफ्नो घरमा दीप प्रज्वलन गर्दै दिक्तेलस्थित किराँतचोकमा पनि सामुहिक दीप प्रज्वलनको कार्यक्रम गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण १, २०८० मंगलवार - १८:५५:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको