खोटाङ। आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।
विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् ।
सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेल विवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ ।