खोटाङ। जिल्लाको सबैभन्दा ज्येष्ठ तथा प्रतिष्ठित ‘बाक्सिला गोल्डकप’को १२ औँ संस्करण सुरु भएको छ । मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि २०६१ सालदेखि सुरु गरिएको बाक्सिला गोल्डकपको १२ औं संस्करण बुधबारदेखि सुरु गरिएको हो ।
बाक्सिला फुटबल क्लवको आयोजनामा सुरु गरिएको गोल्डकप केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले उद्घाटन गरेका हुन् ।
केपिलासगढी गाउँपालिका ४ बाक्सिलास्थित पृथ्बी माबिको खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा जिल्लाका आठ ठिमले प्रतिष्पर्धा गरिरहेका छन् ।
बाक्सिला रनिङ गोल्डकपको उद्घाटन खेलमा नेर्पा स्पोर्टस क्लव नेर्पा विजयी भएको छ । टाईब्रेकरमा बाहुनीडाँडा फुटबल क्लवलाई हराउँदै नेर्पा सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा बाहुनीडाँडाले ४ गोल गर्दा नेर्पाले ५ गोल गरेको बाक्सिला फुटबल क्लवका अध्यक्ष शिबकुमार राईले बताए ।
फागुन ३ गते दिउँसो १ : ३० बजे खारम्बु स्पोर्टस क्ल्व र कटारी फुटबल क्लव, उदयपुरबीच खेल हुनेछ । यस्तै, फागुन ४ गते दिउँसो १ बजे बाँझे स्पोर्टस क्लव र बाक्सिला फुटबल क्लव ९ब्लु० तथा फागुन ४ गते दिउँसो ३ बजे भगवती स्पोर्टस क्लव खोटाङबजार र बाक्सिला फुटबल क्लव ९रेड० बीच खेल हुने बाक्सिला फुटबल क्लवले जनाएको छ ।
प्रतियोगितामा विजेता बन्न सफल टिमले नगद २ लाख ५५ हजार २१२ र उपविजेताले १ लाख २८ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगीताको पहिलो खेलमा पराजित भएर बाहिरिने टिमलाई नगद ३० हजार र दोश्रो खेलमा पुगेर जराजय बेहोर्दै बाहिरिने टिमलाई प्रतिटिम ६० हजार प्रदान गर्ने व्यवस्था मिलाइएको क्लवका सचिव पवन श्रेष्ठले बताए ।
गोल्डकपमा जिल्ला फुटबल संघमा आवद्ध चल्तीका क्लवहरुलाई पहिलो प्राथमिकतामा राखेर सहभागी गराइएको छ । जिल्लामा व्यवसायीक रुपमा खेलिरहेका खेलाडीलाई अवशर मिल्नेगरी गोल्डकप आयोजना गरिएको बाक्सिला फुटबल क्लवले जनाएको छ ।
२०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दै आएको छ ।
चन्दाकैभरमा प्रतियोगीता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा प्रतियोगीता आयोजना गरेको हो । ११ औं बाक्सिला रनिङ गोल्डकपको उपाधि आयोजक बाक्सिला फुलबल क्लबले उचाल्दा सोल्मा स्पोर्ट क्लब सोल्मा उपविजेता बनेको थियो ।