खोटाङ । १२ औँ संस्करणको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि भगवती स्पार्टस् क्लब खोटाङबजारले उचालेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा आयोजक बाक्सिला फुटबल क्लब बाक्सिला ‘ब्ल्यु’लाई ट्राईब्रेकरमा ४–५ गोल अन्तरले हराउँदै भगवती स्पार्टस क्लब खोटाङबजारले १२ औँ संस्करणका उपाधि चुमेको हो ।
निर्धारित समयभित्र दुबै टिमबाट एकएक गोल मात्रै भएपछि टाईब्रेकरमार्फत विजेता र उपविजेताको टुंगो लगाइएको थियो । टाईब्रेकरमा बाक्सिला फुटबल क्लव (ब्लु) ले ४ गोल गर्दा भगवती स्पोर्टस क्लव खोटाङबजारले ५ गोल गरेको थियो । हारसँगै बाक्सिला बाक्सिला फुटबल क्लवको आयोजनामा भएको प्रतियोगीतामा नेर्पा स्पोर्टस क्लव नेर्पा र खारम्बु स्पोर्टस क्ल्व, खार्मी सेमिफाइनलिष्ट बनेको छ ।
प्रतियोगितामा विजेता बन्न सफल टिमलाई नगद २ लाख ५५ हजार २१२ र उपविजेतालाई १ लाख २८ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको बाक्सिला फुटबल क्लवका अध्यक्ष शिबकुमार राईले बताए ।
दुई सेमीफाइनलिष्ट टिमलाई प्रतिटिम ६० हजार प्रदान गरिएको छ । प्रतियोगीताको पहिलो खेलमा पराजित भएर बाहिरिने टिमलाई पनि प्रतिटिम नगद ३० हजार प्रदान गरिएको छ ।
विजेता टिम र खेलाडीलाई अखिल नेपाल फुटबल संघका प्रदेश अध्यक्ष एबं केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राई र केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले पुरस्कार हस्तान्तरण गरेका थिए ।
मोफसलमा फुटबलको व्यवसायीक विकासका लागि २०६१ सालदेखि सुरु गरिएको बाक्सिला गोल्डकपको १२ औं संस्करण फागुन २ गतेदेखि सुरु गरिएको थियो । गोल्डकपमा जिल्लाका आठ टिमको सहभागीता रहेको थियो । जिल्लामा व्यवसायीक रुपमा खेलिरहेका खेलाडीलाई अवशर मिल्नेगरी गोल्डकप आयोजना गरिएको बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले बताए ।
२०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनका लागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दैआएको छ ।
चन्दाकैभरमा प्रतियोगीता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा प्रतियोगीता आयोजना गरेको हो । ११ औं बाक्सिला रनिङ गोल्डकपको उपाधि आयोजक बाक्सिला फुलबल क्लबले उचाल्दा सोल्मा स्पोर्ट क्लब सोल्मा उपविजेता बनेको थियो ।