सैलुन खोल्न पाउनुपर्ने माग गर्दै नाई व्यवसायी सडकमा उत्रिएका छन्। संयुक्त नाई संघर्ष समितिको अगुवाइमा उनीहरुले मंगलबार ललितपुरको जावलाखेलदेखि काठमाडौंको माइतीघर मण्डलसम्म प्रदर्शन गरेका छन्। उनीहरुले तत्काल देशैभर सैलुन र ब्युटी पार्लर खोल्न पाउनुपर्ने माग गरेका हुन्।
लामो लकडाउन र निषेधाज्ञाले गर्दा गुजारा चलाउने कठिनाइ भएको जनाउँदै तत्काल व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । यससँगै लकडाउन अवधिको राहत व्यवस्था गर्न, बैंक ब्याज मिनाहा गर्न, पसल तथा कोठाभाडा मिनाहा गर्न माग गरेका छन्।
त्यस्तै, सैलुन र ब्युटी पार्लर सञ्चालन गर्नका लागि श्रमिकलाई निःशुल्क पीपीई प्रदान गर्न माग गरेका छन्। यो सँगै नाई श्रमिकहरुको ५० लाखको जीवन वीमा गर्न पनि आग्रह गरेका छन्।