• ट्रेण्डिङ:

सभामुख घिमिरेले गरे मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको प्रशंसा

सभामुख घिमिरेले गरे मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको प्रशंसा

रोदिक खबर

८, फाल्गुण २०८०
  • 3.4K
    SHARES
  • सभामुख घिमिरेले गरे मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको प्रशंसा

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को प्रशंसा गरेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपाल कला परिषद, बबरमहल, काठमाडौंमा प्रदर्शनीमा राखेको चित्रहरुको मंगलबार अवलोकन पश्चात सभामुख घिमिरेले प्रशंसा गरेका हुन ।

    Screenshot_20240220-202648_Gallery.jpg

    नगरपालिका र धनु आर्ट स्टुडियोले गत असोज १७ गतेदेखि असोज २१ गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागी स्वदेश तथा विदेशका चित्रकारले बनाएको चित्रलाई काठमाडौं ल्याएर प्रदर्शन गरिएको हो ।

    Screenshot_20240221-101137_Gallery.jpg

    गत शनिबार कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । फागुन १७ गतेसम्म प्रदर्शनीमा राखिने चित्रहरुको हरेक दिन अवलोकन भइरहेको छ । मंगलबार अवलोकन गर्न पुग्नु भएका सभामुख घिमिरेले चित्रकला प्रदर्शनी कार्यक्रमले पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुगेको बताए ।

    दिक्तलमै कलाकारहरु पुगेर त्यहाँको बास्तबिक विशेषतालाई चित्रमा उतारेर देशको कला र सम्पदाको महत्व झल्काएको सभामुख घिमिरेको भनाइ थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको यो कार्यले खोटाङ जिल्लाको मात्र नभएर देशकै पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुराएको सभामुख घिमिरेले बताए ।

    कला, संस्कृति र पर्यटन प्रवद्र्धनको लागि गत असोजमा दिक्तेलमा आयोजना गरिएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी बनेका चित्रकारहरुले बनाएको चित्रहरु काठमाडौंमा प्रदर्शनीमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायतका चित्रकारले बनाएका करीब २०० वटा चित्रहरु प्रदर्शनीमा राखिएको छ ।

    धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले चित्रकला प्रदर्शनी आयोजना गरिएको नगरप्रमुख भट्टराईको भनाइ छ ।

    १८ जना विदेसी र २५ जना स्वदेसी चित्रकारले दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा, जालपा, शुभम फाउण्डेसन लगायतमा पुगेर उतारेका लाइभ पेन्टिङलाई नेपाल कला परिषदमा प्रदर्शनमा राखिएको हो ।

    खोटाङमा अनुपस्थित कलाकारहरुले काठमाडौं लगायत देश विदेशमा कोरिएका ५० देशभन्दा बढीका चित्रकारहरुको चित्र प्रदर्शनमा अवलोकन गर्न सकिने मेयर भट्टराईको भनाइ छ ।

    खोटाङ जिल्लाको प्राकृतिक, धार्मिक, साँस्कृतिक साथै पर्यटकीय क्षेत्रहरुलाई कलाकारहरुले क्यानभासमा उतारेका छन्। १२ दिनसम्म कला परिषदमा प्रदर्शनमा राखिएको चित्रलाई पुःन दिक्तेलमा लगेर संग्रहालय बनाएर राख्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ ।

    कला परिषदमा फागुन १७ गतेसम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण ८, २०८० मंगलवार - २०:३६:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको