संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले राष्ट्रिय सहमतीको सरकार बनाउने बाटोमा जान सके नेपाल र नेपालीको हित हुने बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले आइतबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले गरिबी, बेरोजगार, अशिक्षा र रोगलाई नेपाली जनताको साझा दुस्मन किटान गरेर त्यसको अन्त्यको लागि राष्ट्रिय सहमतीको सरकार बनाइनुपर्नेमा जोड दिएका हुन् ।
मन्त्री किरातीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै भ्रष्टाचार अन्त्य गर्नमा सरकार लागि परेको बताए । “देशमा सुशासन कायम नभएसम्म सत्रुको रुपमा देखा परेको गरिबी, बेरोजगार, अशिक्षा र रोग अन्त्य गर्न सकिँदैन । यसका लागि राष्ट्रिय सरकार गठन गरेर जानुपर्छ ।
निरंकुस राजतन्त्र सबै मिलेर ढालेका हौँ”, उनले भने, “देशमा अहिले साझा समस्याका रुपमा देखिएका गरिबी, बेरोजगार, अशिक्षा र रोग अन्त्य गर्न राष्ट्रिय सरकार आवश्यक छ । वर्तमान गठबन्धनलाई अझ बलियो बनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । अनिमात्र समृद्ध नेपाल निर्माण गर्न सक्छौँ ।”
मन्त्री किरातीले वर्तमान सत्ता साझेदार गठबन्धन दलभित्र देखिएका केही समस्याका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने पनि बताए । गठबन्धन निर्माण गर्दा जनतालाई देखाइएको सपना पूरा गर्नका लागि पनि वर्तमान गठबन्धन सरकारलाई कायम राख्नुपर्ने उनको भनाइ थियोे ।
मन्त्री किरातीले नेपालका हरेक घुम्ती तथा डाँडापाखा पर्यटनको सम्भावना बोकेको ठाउँ रहेको बताए । “नेपालका हरेक जातजातिको छुट्टाछुट्टै विशेषता, छुट्टाछुट्टै भेषभुषा तथा संस्कार, संस्कृति रहेका छन् । यसलाई प्रवद्र्धन गर्न वर्तमान सरकार लागि परेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले तयार पारेको १६ औँ पञ्चवर्षीय योजनामा रैथाने शब्द समाबेस गरिएको छ”, उनले भने, “पर्यटन प्रवद्र्धनका लागि हामीले अन्य देशको सिको गर्न आवश्यक छैन । रैथाने रहनसहनलाई प्रवद्र्धन गर्न सके यसैमा हाम्रो भविष्य छ । यसप्रति वर्तमान सरकारले गम्भीर भएर मिहिनरुपमा अध्ययन÷अनुसन्धानसहित नीति निर्माण गरिरहेको छ ।”
मन्त्री किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसी, किराँत समुदायको उद्गमस्थल तुवाचुङ–जयाजुम, बराहपोखरी, जन्तेढुङ्गा, मझुवागढी, मुन्धुम ट्रेल लगायतका धार्मिक तथा ऐतिहासिकस्थलहरुको पर्यटन प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट बजेट विनियोजन गरिएको उल्लेख गरे । मन्त्री किराती सोल्मा स्पोर्टस् क्लवको आयोजनामा जारी २३ वर्षमुनिको चौथो वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता समापनको सिलसिलामा खोटाङ आएका हुन् ।