अण्डर–२३ वडास्तरीय पुरुष फुटबलको उपाधि मात्तिमलाई

अण्डर–२३ वडास्तरीय पुरुष फुटबलको उपाधि मात्तिमलाई

रोदिक खबर

२०, फाल्गुण २०८०
  • 11.1K
    SHARES
  • अण्डर–२३ वडास्तरीय पुरुष फुटबलको उपाधि मात्तिमलाई

    खोटाङ । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८०’को उपाधि साकेला गाउँपालिका–५ मात्तिमले जितेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको आफ्नै खेलमैदानमा आइतबार साँझ सम्पन्न फाइनल खेलमा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेलाई ट्राइब्रेकरमा ६–५ गोल अन्तरले पछि पार्दै मात्तिमले एक लाख २२ हजार २२२ पुरस्कार राशीको उपाधि जितेको हो ।

    निर्धारित समयमा दुवै टिम (समूह) को एक/एक गोल भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । शुरुमा दुवै टिमका पाँच÷पाँच जनाले प्रहार गर्दा दुवै समूहको पाँच/पाँच गोल भएपछि पुनः एक÷एक जनाले प्रहार गर्दा मात्तिमका गोल रक्षकले सावाकटहरेका खेलाडीको प्रहार रोकेसँगै मात्तिमले उपाधि जितेको हो ।

    प्रतियोगितामा उपविजेता बनेको सावाकटहरेले ७१ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दुई सेमिफाइनलिष्ट टिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ लफ्याङ र सोही नगरपालिकाको वडा नं. ६ नेर्पालाई प्रतिटिम ३५ हजार ५५५ प्रदान गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगितामा खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरी अनुशासित टिम र मात्तिमका राहुल राई उत्कृष्ट खेलाडी घोषित भएका छन् । अनुशासित टिम र उत्कृष्ट खेलाडीलाई जनही नगद पाँच हजार ५५५ प्रदान गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगिताका बेष्ट किपर मात्तिमका उमेश थापा, बेष्ट डिफेन्डर सावाकटहरेका युवराज थापा, बेष्ट मिड फिल्डर सावाकटहरेकै सुविन खड्का, हाइ स्कोरर नेर्पाका बिकी राई, बेष्ट कोच मात्तिमका हिरन राई र द राईजिङ प्लेयर मात्तिमका साहिल राई घोषित भएका छन् । उनीहरुलाई जनही नगद तीन हजार ३३३ का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका सह–सचिव अमर श्रेष्ठले जानकारी दिए ।

    विजयी टिम र खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।

    प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले यही फागन–१५ गते क्लबको लोगो (चिन्ह) सहितको बेलुन उडाएर उद्घाटन गरेको प्रतियोगितामा १२ वडाले सहभागिता जनाएका थिए ।

    गाउँघरमा फुटबलको व्यवसायिक विकास गर्ने उद्देश्यकासाथ स्थानीय बासिन्दाको अग्रसरतामा सोल्मामा निर्माण गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लबले हरेक वर्ष फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । जुनियर खेलाडी उत्पादन गर्ने र अवसर दिने लक्ष्यका साथ अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताए ।

    प्रतियोगिता समापनको अवसरमा प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय सदस्य एवम् किराँतकोशी डटकमका सम्पादक भीम राईलाई पाँच हजार ५५५ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

    पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा सघाउँ पु¥याएकाले पत्रकार राईलाई यस वर्षको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’ प्रदान गरिएको आयोजकले जनाएको छ ।

    पाँच दिनसम्म चलेको प्रतियोगिता समापनको अवसर पारेर आयोजकले विभिन्न क्षेत्रमा योगदान गर्ने सोल्माबासीलाई सम्मान गरेको छ । सम्मानित व्यक्तित्वहरुलाई मन्त्री किरातीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडि बढाउनुपर्ने बताए । राज्यले गर्नुपर्ने खेलकुद सम्बन्धी क्रियाकलाप स्थानीय जनताले गरेकोमा धन्यवाद दिदै मन्त्री किरातीले मनोरञ्जनका लागि खेलाइने खेलकुद प्रतियोगितालाई आगामी दिनमा पर्यटनसँग जोड्न आग्रह गरे ।

    समापन कार्यक्रममा चर्चित गायिका अस्मिता अधिकारी, हास्यकलाकार सुबोध गौतम लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुतिसमेत आयोजना गरिएको छ । गायिका अधिकारीले आफ्नो साँगीतिक प्रस्तुतिमा मन्त्री किराती, नगर प्रमुख, उपप्रमुख लगायत सहभागीलाई छमछमी नचाएकी थिइन् ।

    प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - २१:१४:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको