खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी कृषि मार्ट सञ्चालनमा ल्याएको छ । कृषकहरुले उत्पादन गरेको कृषि उपज बजारीकरणको लागि नगरपालिकाले आइतबारबाट हलेसी कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।
वडा नम्बर ७ महादेवस्थानस्थित ट्राफिक चोकमा चिस्यान केन्द्रसँगै कृषि मार्टको भवन निर्माण गरिएको छ । उक्त भवनलाई सूचनामार्फत निजी संस्थालाई भाडामा दिएर सञ्चालन गरिएको हो । गत आर्थिक वर्षमा विनियोजित रु १८ लाख ४४ हजार र चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरिएको रु १९ लाख ९४ हजार ८ सय ३१ रुपैयाँमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको हो ।
सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा नगरपालिकाले निर्माण गरेको चिस्यान केन्द्रसहितको कृषि मार्ट मासिक १० हजार भाडामा सञ्चालनको लागि जिम्मा दिइएको नगरपालिका लेखा शाखामा कार्यरत भीम ढकालले जानकारी दिए ।
नगरपालिका भरिका कृषकहरुले कृषि मार्टमा लगेर कृषि उपज विक्री गर्ने छन् । उक्त उपज मार्ट सञ्चालकले बजारीकरण गर्नेछ । केही दिन अघि नगरपालिकाले कृषक र होटल व्यावसायिहरुसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको छ । सोही मूल्य अनुसार कृषकले उत्पादन गरेको कृषि उपज कृषि मार्टमा विक्री हुने छ । आवश्यकता र सयमको आधारमा मूल्य परिवर्तन पनि हुँदै जाने नगरप्रमुख विमला राईले बताइन् ।
नगरपालिकाले तोकेको मूल्यमा कृषकबाट कृषि उपज खरिद गर्नु पर्ने छ भने बढीमा २० प्रतिशतसम्म मात्र नाफा लिएर मार्ट सञ्चालकले विक्री गर्न पाउने गरी नीति बनाइएको नगरप्रमुख राईले बताइन् । विगतमा कृषि उपजहरु विक्री नहुने, उचित मूल्य नपाउने, विक्री गर्न घरहरुमा बोकेर डुलाउदै जानु पर्ने कृषकहरुको बाध्यता थियो । कृषि मार्ट र चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकहरुको उक्त समस्या समाधान हुने नगरप्रमुख राईको भनाइ छ ।
उत्पादित कृषि उपजहरु विक्री गर्न धेरै समस्या थियो, घर घर बोकेर डुलाउदै हिड्नुपर्ने, विक्री भएन भने कुहिएर जाने लगायतको समस्याको नगरपालिकाले समाधान गरिदिएको कृषक सरनसरी राईले बताइन् ।
आइतबार नगरप्रमुख राई, उपप्रमुख रमेश कुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको हलेसी कृषि मार्टमा कृषकहरुले कृषि उपज विक्री गर्न सुरु गरेका छन् ।
आलु, साग, धनिया, कोपी, मुला लगायतका तरकारीहरु विक्री गर्न कृषकहरु कृषि मार्टमा आएका थिए । आफुले लिएर आएको कृषि उपज विक्री गरेर खुशी हुँदै कृषकहरु घर फर्किएका छन् । ‘अरु बेला सबै घरहरु, होटलहरुमा डुलेर कराउदै बेच्नु पथ्र्यो, आज सहजै यहाँ विक्रीहुँदा धेरै खुशी लागेको कृषक अनिता राईले बताइन् ।
कृषि उपजको बजारीकरणका लागि सञ्चालन गरिएको कृषि मार्टले निरन्तरता पाउनुपर्ने उपस्थित सबैको माग रहेको थियो । हलेसीमा आगामी दिनमा दुध डेरीसमेत सञ्चालनको लागि तयारी गरिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए ।
दुध उत्पादनको लागि नगरपालिकाले भैँसी प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । हरेक दिन सयौँको संख्यामा त्रि–धार्मिक स्थल हलेसीमा पर्यटकहरु आउने गरेका छन् । जसकारण हलेसी क्षेत्रका होटलहरु प्राय सधै चलायमान हुन्छन् । तर, व्यवस्थापन हुन नसक्दा स्थानीय स्तरमा उत्पादन भएका कृषि उपज कुहिएर जाने र बाहिरबाट तरकारीहरु भित्रिने गरेको बताइन्छ । नगरपालिकाले कृषि मार्ट सञ्चालनमा ल्याएसँगै कृषकहरुले उत्पादन गरेको सबै कृषि उपज विक्री हुने विश्वास लिइएको छ ।