शुक्रवार, भाद्र २६ गते २०८३

क्यान्सरसँग लड्दै गरेकी कट्वालको वचाउको लागि परिवारद्वारा सहयोगको याचना

क्यान्सरसँग लड्दै गरेकी कट्वालको वचाउको लागि परिवारद्वारा सहयोगको याचना

रोदिक खबर

२१, फाल्गुण २०८०
  • 13.2K
    SHARES
  • क्यान्सरसँग लड्दै गरेकी कट्वालको वचाउको लागि परिवारद्वारा सहयोगको याचना

    खोटाङ । स्तन क्यान्सरबाट पीडित बिरामीले सहयोगको याचना गरेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले ठेगाना भइ हाल मोरङको उर्लाबारी नगरपालिका–१ चारघरे गुम्बा निवासी ३७ वर्षीय मिना कट्वालको परिवारले सहयोगको याचना गरेका हुन् ।

    देब्रे स्तनमा क्यान्सर भएपछि हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी कट्वालको उपचारका क्रममा घरघडेरी नै सकिने अवस्था आएपछि सहयोगको याचना गर्नुपरेको श्रीमान गोबिन्द कट्वालले बताए ।

    विदेशमा दुःख गरेर उर्लाबारीमा जोडेको घर घडेरी नै साहुलाई बुझाउनुपर्ने अवस्था आएपछि कट्वाल परिवारले रसिद छपाएर सहयोग माग्न सुरु गरेका छन् ।

    गोबिन्द बैदेसिक रोजगारीका सिलसिलामा २०७९ भदौमा दुबई गएका थिए ।मिनालाई सोही वर्ष स्तन क्यान्सर भएको पूष्टी भएको हो ।

    सुरुमा स्तनमा घोच्ने, पोल्ने र छाम्दा गिर्खा भेटिएपछि मिनालाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

    धरानमा क्यान्सर भएको आशंका गरिएपछि बिरामीलाई २०७९ मंसिर १२ गते भक्तपुर क्यान्सर अस्पताल लगिएको थियो । भक्तपुर लगेपछि उनलाई स्तन क्यान्सर भएको पूष्टि भएको हो । अस्पतालले तत्काल अप्रेसन गर्नु भने पनि जिम्मा लिने नजिकका आफन्त नहुँदा मिनाको अप्रेसन रोकिएको थियो ।

    गोबिन्द श्रीमतीको उपचारकै लागि बैदेसिक यात्रा छोट्याउँदै गत असोज १५ गते घर फर्केपछि गत कात्तिक १ गते मिनाको अप्रेसन गरिएको हो ।

    अप्रेसन गरेर किमो दिन थालेपछि मिनाको स्वास्थ्यमा सामान्य सुधार हुँदैगएको छ । उनको उपचारको क्रममा हालसम्म १३ लाख सकिएको गोबिन्दले बताए ।

    गोबिन्दले साउदीमा तीन वर्ष र कतारमा ३१ महिना बसेर उर्लाबारीमा घडेरी जोडेर घर बनाएका थिए । हाल श्रीमतीको उपचारका लागि १० लाख ऋणमा सोही घर धितोमा राखेको गोबिन्द बताउँछन् ।

    ‘श्रीमतीको उपचारका लागि १० लाखमा घर धितोमा राखेको छु । तीन लाख सरसापट गरेर जुटाएँ,’ गोबिन्दले भने, ‘ऋण तिर्न घर बेच्नुपर्ने अवस्था आएको छ । अस्पतालले अझै पैसा चाहिन्छ भनिरहेको छ ।’ मिनाको उपचारार्थ उर्लाबारी नगरपालिका–१ वडा कार्यालयले एक लाख दिएको छ ।

    क्यान्सरसँग जुधिरहेकी मिनालाई श्रीमान गोबिन्द कट्वालको नाममा नोबिल बैंकमा खोलिएको खाता नम्बर ०८५१००१७५०४४५७ मार्फत सहयोग गर्न सकिन्छ । कट्वाल दम्पत्तीका एक छोरा र दुई छोरी छन् ।

    प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - २०:५५:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको