क्युएए पाएपछि दिक्तेल बहुमुखी क्याम्पसद्वारा सरोकारवालालाई धन्यवाद ज्ञापन

क्युएए पाएपछि दिक्तेल बहुमुखी क्याम्पसद्वारा सरोकारवालालाई धन्यवाद ज्ञापन

रोदिक खबर

२२, फाल्गुण २०८०
  • 9.9K
    SHARES
  • क्युएए पाएपछि दिक्तेल बहुमुखी क्याम्पसद्वारा सरोकारवालालाई धन्यवाद ज्ञापन

    खोटाङ । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेपछि दिक्तेल बहुमुखी क्याम्पसले सरोकारवालालाई धन्यवाद दिएको छ। क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षतामा क्याम्पसको कार्यक्रम हलमा मंगलबार बिहान एक कार्यक्रम गरी क्याम्पसलाई क्युएए प्राप्त गर्नमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरोकारवालाहरुलाई धन्यवाद दिएको हो।

    na1.jpg

    कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, अभिभावक, भूपू विधार्थीहरुको उपस्थिति थियो।

    लगभग आठ वर्षको प्रयत्नपछि विश्वविद्यालय अनुदान आयोगको बोर्डले २०८० पुष १९ गते क्याम्पसलाई क्युएए दिने निर्णय गरेको थियो । बोर्डले माघ १२ गते काठमाण्डौमा भएको विशेष समारोहमा बोलाएर क्याम्पसलाई क्युएएको प्रमाणपत्र प्रदान गरेको क्याम्पस प्रमुख हिराकुमार राईले बताए ।

    ‘क्युएए प्राप्ति आफैमा शैक्षिक संस्थाहरुका लागि एउटा गौरवको विषय हो। क्युएए प्राप्तीले प्रतिस्पर्धात्मक युगमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा दिक्तेल बहुमुखी क्याम्पस सक्षम छ भन्ने प्रमाणिकरण गरेको छ।’ क्याम्पस प्रमुख राईले भने।

    क्युएए प्राप्तिपछि अब विश्वविद्यालयबाट सञ्चालन हुने विभिन्न कार्यक्रममा क्याम्पसलाई सहभागिताको अवसर मिल्ने, कार्यसम्पदानका आधारमा अनुदानको स्तर बढ्ने, क्याम्पसको भौतिक संरचनाको थप विकास हुने र विद्यार्थीले प्राप्त गर्नुपर्ने सेवासुविधाहरु विस्तार भए जानेछ। क्युएए पाँच वर्षका लागि मान्यता हुनेछ।

    २०३७ सालमा स्थापना भएको जिल्लाकै पूरानो दिक्तेल बहुमुखी क्याम्पसमा स्थायी ११ जना, अस्थायी दुईजना, करार सातजना, आंशिक सेवामा छ जना गरी २६ जना शिक्षक तथा स्थायी र अस्थायी चार–चारजना कर्मचारी कार्यरत छन्। यस क्याम्पसमा खोटाङसहित छिमेकी जिल्ला भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर लगायतका विद्यार्थी अध्ययनरत छन्।

    प्रकाशित मिति :फाल्गुण २२, २०८० मंगलवार - १४:२८:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको