स्वास्थ्य बीमा गरेकाले उपचार खर्चको १० प्रतिशत रकम तिर्नुपर्ने

स्वास्थ्य बीमा गरेकाले उपचार खर्चको १० प्रतिशत रकम तिर्नुपर्ने

रोदिक खबर

२६, फाल्गुण २०८०
  • 3.4K
    SHARES
  • स्वास्थ्य बीमा गरेकाले उपचार खर्चको १० प्रतिशत रकम तिर्नुपर्ने

    खोटाङ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले उपचार खर्चबापत १० प्रतिशत रकम (सहभुक्तानी) तिर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैँले तिर्नुपर्ने जिल्ला अस्पताल खोटाङले जनाएको छ।

    जिल्लामा सह–भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याइएसँगै स्वास्थ्य बीमा गरेका नागरिकले पनि उपचार गराउँदा लाग्ने कूल खर्चको १० प्रतिशत रकम अस्पताललाई तिर्नुपर्ने भएको छ ।

    स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली कार्यविधि २०८० कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्डको पुस–९ गतेको पत्रअनुसार स्वास्थ्य बीमा गरेका नागरिकले पनि उपचार गराउँदा लागेको कूल खर्चको १० प्रतिशत रकम तिर्नुपर्ने जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा. पुस्कल राईले बताए ।

    जिल्ला अस्पतालले बिहीबार सूचना जारी गर्दै स्वास्थ्य बीमा गरेका नागरिकले पनि फागुन–२५ गतेदेखि कूल खर्चको दश प्रतिशत तिर्नुपर्ने व्यवस्था कार्यान्वयन हुने जानकारी दिएको छ । अति गरिबको परिचयपत्र प्राप्त गरेका परिवार, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अति अशक्त अपाङ्गताको परिचयपत्र (रातो कार्ड) प्राप्त अपाङ्ग, महिला स्वयम्सेविका, एचआइभी एड्स सङ्क्रमित, जटिल किसिमको क्षयरोगी र कुष्ठ रोगीको हकमा भने उक्त प्रणाली लागू नहुने जनाइएको ।

    बिरामीले उपचार गराएर अन्तिममा काउण्टरबाट कार्ड लिने बेला कूल खर्चको हिसाब गर्ने र सह–भुक्तानी प्रणालीको दश प्रतिशत रकम बुझाउनुपर्ने जिल्ला अस्पतालले सूचनामार्फत जानकारी दिएको छ । उपचारका क्रममा सहुलियत हुने भएपछि पछिल्लो समय जिल्लामा स्वास्थ्य बीमा गर्ने नागरिकको सङ्ख्या बढ्दो छ ।

    स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने ५ जना सदस्यसहितको परिवारले बीमा शुल्क बापत प्रत्येक वर्ष तीन हजार ५०० का दरले शुल्क बुझाउनुपर्ने छ । अतिरिक्त सदस्यले रु ७०० का दरले शुल्क बुझाउनु पर्नेछ ।

    सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तरगत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

    ५ जनाले सदस्यसहितको परिवारले एक लाख, छजना भएमा एक लाख २० हजार, ७ जना भएमा एक लाख ४० हजारसम्मको छुट पाउने व्यवस्था थियो ।

    प्रकाशित मिति :फाल्गुण २६, २०८० शनिवार - ०९:१९:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको