• ट्रेण्डिङ:

चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो फागुन–२८ गतेदेखि चैत–१ गतेसम्म दिक्तेलमा गरिने

चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो फागुन–२८ गतेदेखि चैत–१ गतेसम्म दिक्तेलमा गरिने

रोदिक खबर

२७, फाल्गुण २०८०
  • 8.7K
    SHARES
  • चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो फागुन–२८ गतेदेखि चैत–१ गतेसम्म दिक्तेलमा गरिने

    खोटाङ । गोर्खाली सेनाले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा गरिने भएको छ । खोटाङ्कै भूमिमा जन्मिएर ब्रिटिस आर्मी (बेलायती सेना) को विमान चालक क्याप्टेन रितेश चाम्सको मुख्य भूमिकामा निर्माण गरिएको चलचित्र ‘गोर्खा वारियर’ भोलि फागुन–२८ गतेदेखि चैत–१ गतेसम्म दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा विशेष च्यारिटी शो गरिने भएको हो ।

    नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद खोटाङले प्रदर्शनीको आयोजना गरेको चलचित्र गोर्खा वारियर पूर्खाहरुको वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको नायक क्याप्टेन रितेशले बताए ।

    “चलचित्र गोर्खा वारियरमा ७० वर्ष अघिको इतिहासलाई देखाउन खोजिएको छ । युद्धमा गोर्खाली सेनाले भोगेका वास्तविक कथावस्तुमा आधारित भएर चलचित्र निर्माण गरिएको हो”, उनले भने, चलचित्रमा गोर्खाली सेनामा आवद्ध रहेकाहरुको जीवनको भोगाइ र पीडाहरुलाई समावेश गरिएको छ ।

    चलचित्रमार्फत मौलिकपना देखाउन खोजिएको छ । चलचित्र गोर्खा वारियरका लागि सोलुखुम्बु जिल्लाका पहाडी क्षेत्रहरु, सर्वोच्च शिखर सगरमाथा, सिन्धुलीको दरबार क्षेत्रका साथै मलेसियामा छायाँङ्कन गरिएको छ ।

    चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्र गोर्खा वारियर नेपालीले हेर्नै पर्ने चलचित्र बनेको निर्माता सुमन राईले बताए चलचित्रमा नायक क्याप्टेन रितेशसँगै नायिका रेविका गरुङ, विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्री लगायतका कलाकारहरुको अभिनय छ ।

    चलचित्र गोर्खा वारियर ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट भएको चलचित्र हो । गोर्खालीको इतिहास, बहादुरी, हाम्रा पूर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र गोर्खा वारियर निर्माण गरिएको निर्देशक मिलनले बताए ।

    “बिगतमा नेपालीहरुले गोर्खा लाहुरे हुनुपर्ने बाध्यतालाई चलचित्रको विषयवस्तु बनाइएको छ । दिक्तेलमा प्रदर्शन गर्न लागिएको चलचित्र गोर्खा वारियरको च्यारिटी शोको लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक जनजाति महासङ्घका अध्यक्ष फूर्वा शेर्पाले जानकारी दिए ।

    चार दिनसम्म सञ्चालन हुने विशेष च्यारिटी शो अन्तरगत हरेक दिन बिहान ११ः०० बजे, दिउसो २ः०० बजे र बेलुका ५ः०० बजेगरी तीनवटा शो राखिएको आयोजकले जनाएको छ । लण्डनको आइम्याक्स सिनेमा घरमा प्रिमियर शो गरिएको चलचित्र गोर्खा वारियर फागुन–११ देखि देशभर प्रदर्शन भइरहेको जनाइएको छ ।

    चलचित्र गोर्खा वारियर हङकङ, अमेरिका, दक्षिण कोरिया लगायतका ठाउँहरुमा विशेष प्रिमियर शो गर्ने तयारी गरिएको निर्माता राईले जानकारी दिए।

    प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - २०:४८:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको