खोटाङ । किर्ते कागजात बनाएर हलेसी पाटी डटकम नामक अनलाईन दर्ता गरेर सञ्चालन गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोज गिरी पुनः पक्राउ परेका छन् । अदालतको फैसलाले किर्ते जालसाजी मुद्धामा कारबाही भोगिसकेका तथा उनीविरुद्धको विद्युतीय अपराध संहिता मुद्धा विचाराधीन रहेको अवस्थामा गिरीलाई प्रहरीले पुनः सार्वजनिक लिखतसम्बन्धी कसूर मुद्धामा पक्राउ गरेको हो ।
गिरीले दर्ता नै नभएको हलेश्वर महादेव गुठी समितिको नाम खडागरी लेटरप्याड र छाप बनाएर अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
“गिरीले किर्ते लेटरप्याड र छाप बनाएर हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईलाई गत माघ–१८ गते र २६ गते पत्र लेखेका रहेछन् । उनले लेखेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राईलाई लेखेको पत्रमा बरबुझारत गर्न ताकेता गरेको देखिन्छ”, उनले भने, “गिरीले प्रयोग गरेको लेटरप्याड र छाप भएको संस्था गुठी संस्थानको कार्यालय त्रिपुरेश्वर काठमाडौँमा खोज्दासमेत त्यो नामको संस्था पाइएन ।
उनले गलत मनसायका साथ आधिकारिक संस्थाका अध्यक्षलाई दबाब दिइरहेको पाइएपछि पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ ।” गिरीले बिना कारण तथा बिना प्रमाण किर्ते कागजात बनाएर पटक–पटक आफूमाथि दबाब दिएको भन्दै व्यवस्थापन समितिका अध्यक्ष राईले गत माघ–२९ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा छानबिन गरेर गिरीलाई बिहीबार हलेसीस्थित उनको आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गिरीलाई जिल्ला अदालत खोटाङमा बिहीबार नै हाजिर गराएर पाँच दिनको म्याद थपगरी अनुसन्धान शुरु गरिएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ । किर्ते मुद्धामा दोस्रो पटक पक्राउ परेका गिरीलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखिएको जनाइएको छ ।
अरुको नामको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्वीर टाँसेर किर्ते प्रमाणपत्र तयार पारी सूचना तथा प्रशारण विभागमा हलेसी पाटी कटकम नामक अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गरेका गिरीलाई वि.सं. २०७९ माघ–१९ जिल्ला अदालत खोटाङले २० दिन कैद र तीन हजार जरिबानाको फैसला सुनाएको थियो ।
किर्ते जालसाजी मुद्धामा कैद र जरिबाना दुवै भुक्तानी गरिसकेका गिरीले सोही स्थानका कुभेशचन्द्र गिरीको शैक्षिक योग्यताको प्रमाणपत्रलाई फोटोसपमार्फत आफ्नो नामको बनाएर प्रयोग गरेको अदालतको ठहर छ । आफूलाई पत्रकार भनेर चिनाउने गिरीविरुद्ध पुनः गत भदौ–१९ गते विद्युतीय अपराध संहिता अन्तरगतको मुद्धा दर्ता भएको थियो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एलोन राईको जाहेरीको आधारमा गिरीलाई भागेर काठमाडौँ पुगेको अवस्थामा प्रहरीले असोज–२१ गते गौशलाबाट पक्राउ गरेको थियो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अफबाह फैलाउने गिरी पाँच दिन हिरासतमा बसेर ८० हजार धरौटीमा छुटेका थिए । गत असोज–२६ गते धरौटीमा छुटेका गिरीको मुद्धा अझै विचाराधीन अवस्थामा रहेको अदालतले जनाएको छ ।