खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सुत्केरी लक्ष्मी खड्काको घरमा शुक्रबार बेग्लै माहोल बन्यो । चामल, विभिन्न प्रकारका फलफुल, अण्डा, सागपात, फर्सी, गेडागुडी लगायतका पोषिलो परिकार बोकेर सुत्केरीलाई भेट्न घरैमा आमा समुह पुगेका हुन् ।

गाउँघरमा कोही सुत्केरी भए ‘भेटघाट गर्न वा आमा र नवजात शिशुको स्वास्थ्य अवस्था हेर्न’ जानु सामान्य नै हो । तर उनीहरू सामुहिक रूपमा सुत्केरीको घरमा पुग्नुपर्ने उद्धेश्य फरक छ । आमा र बच्चा हेर्न मात्र नभएर स्थानीय एकता आमा समुह ‘सुत्केरी आमा भेटघाट’ कार्यक्रमका सिलसिलामा खड्काको घरमा पुगेका हुन् ।
उनले छोरी जन्माएको २५ दिनपछि एकता आमा समुहको टोली सुत्केरी भेट गर्न पुगेका हुन् । सुत्केरी अवस्थाका आमाका लागि आवश्यक पोषणयुक्त खानेकुराको अभाव पूर्ति गर्दै आमा र बच्चाको स्वस्थ स्वास्थ्यका लागि पोषिलो खानेकुरा लिएर सुत्केरी भेटघाटमा पुगेको एकता आमा समुहकी अध्यक्ष मिनादेवी पाण्डेले बताइन् ।
गाउँघरमा सबै परिवारको आर्थिक अवस्था समान छैनन् । हुने खाने परिवारलाई सुत्केरीका लागि पोषिलो खानेकुरा जुटाउन समस्या हुन्न । तर, वर्षभरी खान धौ–धौ पर्ने परिवारमा सुत्केरी भए पोषिलो खानेकुरा जुटाउन सहज छैन । सुत्केरी अवस्थामा पोषणको मात्रा नपुगे आमा र बच्चाको स्वास्थ्यमा नकरात्मक असर पर्न सक्ने भएकाले गर्भवती तथा सुत्केरीलाई भेट गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष पाण्डेले बताइन् ।
आमा समूका अनुसार निर्धारित कार्यक्रम अनुसार सुत्केरीलाई कम्तीमा एक पटक पोषिलो खानेकुरा सहित भेटघाट गरिन्छ । आमा समुहको सुत्केरी भेटले आर्थिक अवस्था नाजुक भएका परिवारका सुत्केरी सबैभन्दा बढि लाभान्वित भएका छन् । गाउँघरमै पाइने पोषिलो आहार खरिद गर्दा कम खर्चिलो र स्वास्थ्यका लागि लाभदायक हुने आमा समूहले जनाएको छ ।
सुत्केरी भेटघाट कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङद्वारा सञ्चालित समुदायमा आधारित बृहत स्वास्थ्य परियोजनाकी कर्मचारी लोकमाया थापा, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखा सामुदायिक नर्सिङ दिपशिखा शाक्य लगायतको उपस्थिति रहेको थियो ।
आमा समुहमा आवद्ध महिलाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यलाभको कामना गरे अनि आमा र नवजात शिशुको स्वस्थ स्वास्थ्यका लागि सावधानीका उपाय बारे सरसल्लाह दिएर फर्किएका छन् । पछिल्लो समयमा खोटाङमा बिभिन्न टोल टोलमा आमा समुहले सुत्केरी भेटघाट कार्यक्रमलाई बृहत बनाउदै लगेका छन् ।