खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका किसान दिपेन्द्र किरातीले तोरीको तेल निकाल्ने मिल सञ्चालनमा ल्याएका छन् । नगरपालिकाको ७५ प्रतिशत अनुदानमा सोल्माली कृषि तथा पशुपंक्षी बहुउद्धेश्यीय फर्मका व्यवस्थापक राईले तोरी पेल्ने मिल सञ्चालनमा ल्याएका हुन् । तोरी पेल्ने मिल सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र उपप्रमुख बिसन राईले स्वीच थिचेर उद्घाटन गरेका थिए ।
नगरपालिकाको ६ लाख (कन्टिन्जेन्सी कटाएर ५ लाख ५७ हजार) र सोल्माली कृषि तथा पशुपंक्षी बहुउद्धेश्यीय फर्मको १ लाख ८० हजार खर्चमा मिल घर तयार गरेर सञ्चालनमा ल्याइएको हो ।
जिल्लाका किसानले उत्पादन गरेका तोरी खरिद गर्ने र शुद्ध तेल निकालेर सहुलियत दरमा ग्राहकलाई विक्रीवितरण गर्नेगरी आयल प्रेस मेसिन खरिद गरेर सञ्चालनमा ल्याइएको सोल्माली कृषि तथा पशुपंक्षी बहुउद्धेश्यीय फर्मका व्यवस्थापक राईले बताए । राईले अनुदानको रकमले मेसिन गरिद गरेका हुन् ।
मिल राख्ने घर भने आफ्नै खर्चमा तयार पारेका हुन् । मिलका लागि स्थानीय किसानबाट प्रतिकेजी ११० रुपैयाँका दरले तोरी खरिद गर्ने गरिएको राईले बताए । उत्पादन गरिएको तेल प्रतिलिटर ४५० का दरले बिक्री वितरण सुरु गरिएको छ । तोरी अपुग भए तराई र काठमाडौंबाट ल्याइने व्यवस्थापक राईले बताए ।
तोरीको तेल निकालेपछि निस्कने पिनालाई गाईवस्तुलाई खोले खुवाउन, माछालाई चारोका रुपमा दिन र मलका रुपमा प्रयोग हुने गरेको छ । हाल तेल र पिनाको माग आइरहेको राईले बताए । ‘तोरी उत्पादन गर्ने किसानले बजारको चिन्ता लिनु पर्दैन, मिलका लागि खरिद गरिदिन्छौँ,’ व्यवस्थापक राईले भने, ‘तोरीको तेल उत्पादन गर्दा तोरी खेती गर्ने किसानलाई प्रोत्साहन मिल्ने अपेक्षा गरेका छौँ ।’