खोरबाट निकालेर अस्पताल पुर्‍याइएकी फुर्दिकुलाई आर्थिक सहयोग

खोरबाट निकालेर अस्पताल पुर्‍याइएकी फुर्दिकुलाई आर्थिक सहयोग

रोदिक खबर

७, चैत्र २०८०
  • 11.2K
    SHARES
  • खोरबाट निकालेर अस्पताल पुर्‍याइएकी फुर्दिकुलाई आर्थिक सहयोग

    खोटाङ । मानसिक समस्या देखिएपछि खोरमा थुनिएको अवस्थामा उद्धार गरेर अस्पताल लगिएकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथला गैरीकी २९ वर्षीय फुर्दिकु शेर्पालाई आर्थिक सहयोग जुटेको छ । मानसिक समस्याका कारण खोरमा थुनेर राखेको अवस्थामा उद्धार गरेर मानसिक अस्पताल लगनखेल पुर्याइएकी फुर्दिकुलाई पत्रकार चिसाङ शेर्पाको पहलमा १ लाख ४ हजार ६०७ रुपैयाँ जुटेको हो ।

    फुर्दिकुको उपचार सहयोगका लागि शुभेच्छुकबाट प्राप्त भएको सहयोग रकममध्ये ७४ हजार १०७ रुपैयाँ मंगलबार नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीले बुवा पेमाछेतर शेर्पालाई हस्तान्तरण गरेका छन् । ३० हजार ५०० रुपैयाँ भने गत फागुन १४ गते हस्तान्तरण गरिएको थियो ।

    फुर्दिकुको उपचारका लागि ५७ दाताबाट सहयोग प्राप्त भएको पत्रकार शेर्पाले बताए । फुर्दिकुको लागि जुटेको सहयोग रकम छोरा पस्नुरी शेर्पाको शिक्षादिक्षामा उपयोग गर्नेगरी हस्तान्तरण गरिएको हो । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनेर राखिएकी फुर्दिकुलाई नगरपालिकाले निःशुल्क उपचार गर्नेगरी फागुन १४ गते मानसिक अस्पताल लगनखेल लगेर भर्ना गरेको थियो ।

    बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुने व्यवस्था मिलाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    मानसिक सन्तुलन गुमाएका कारण फुर्दिकु खोरमा थुनिन वाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो । उपचारपछि हाल उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बुवा पेमाछेतरले बताए ।

    २०६७ सालमा एसएलसीको तयारी गरिरहेका बेला शेर्पालाई मानसिक समस्या देखा पर्न सुरु भएको हो । त्यो बेला औषधि गरेपछि स्वास्थ्यमा सुधार भएको थियो । कोभिड १९ को महामारीका बेला पनि उनमा दोश्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएकी शेर्पा पुःन गत माघ ३ गतेदेखि अस्वस्थ बनेकी हुन् ।

    २१ वर्षको उमेर पुगेपछि फुर्दिकुले २०७२ सालमा भोजपुर अन्नपूर्णका दाजाङ शेर्पासँग विवाह गरिन् । छोरा पस्नुरी जन्माईन् । मुटुको समस्याका कारण २०७६ सालमा श्रीमानको मृत्यु भयो । २५ वर्षकै उमेरमा विधुवा बनिन् । कोभिड १९ ले विश्व आक्रान्त पारिरहेको थियो । श्रीमानको मृत्यु भएको वर्ष दिनपछि फुर्दिकुलाई पुःन मानसिक सन्तुलन गुमाउने समस्या दोहोरियो । अन्नपूर्णको स्वास्थ्य चौकीले पाटन अस्पताल लैजान सुझाव दियो । परिवार मिलेर बिरामीलाई पाटन पु¥याए ।

    दुई महिना राखेर उपचार गरेपछि स्वास्थ्यमा केही सुधार आयो । नियमित औषधि सेवन गर्नेगरी उनलाई घर फर्काइयो । तर खाँदै गरेको औषधि नियमित खान छाडेपछि उनलाई पुःन स्वास्थ्यमा समस्या दोहोरिएको बुवा पेमाछेतरले बताए । श्रीमानको मृत्युपछि फुर्दिकु छोरा पस्नुरीसहित माइती घर फर्किएकी हुन् । ६ वर्षका पस्नुरी हाल कक्षा ३ मा पढ्छन् ।

    प्रकाशित मिति :चैत्र ७, २०८० बुधवार - ०८:२०:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको