उदयपुर र खोटाङबीच भएर बग्ने सुन नदीमा होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१४ का रुद्र पुलामी मगरकी १२ वर्षीया छोरी रेखा मगर, केदार मगरका ९ वर्षीय छोरा रिदम मगर र मेहरमान मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर रहेको वडाध्यक्ष हेमराज मगरले बताए। साउने बजारस्थित चोकमै घर भएका बालबालिका होली खेल्दै नदी पुगेर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको वडाध्यक्ष मगरले बताए।
वडाध्यक्ष मगरका अनुसार स्थानीयले डुबेको प्रत्यक्ष देखेर आफूलाई खबर गरेपछि प्रहरीलाई खबर गरी खोजी कार्य भइरहेको छ। तर, अहिलेसम्म डुबेका बालबालिका कतै फेला परेका छैनन्। बेपत्ता हुने तीनै जना बालबालिका त्रियुगा १४ साउने बजारका भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले बताए।
उनका अनुसार बालबालिका पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर स्थानीयबाट दिउसो ३ः३० बजे पाए लगत्तै प्रहरी चौकी साउने र जिल्ला प्रहरी कार्यालयको छुट्टाछुट्टै टोली घटनास्थल खटाइएको छ। दुवै टोलीले स्थानीयसँग मिलेर बालबालिकाको खोजी कार्य जारी राखेको उनले बताए।
वडाध्यक्ष मगरका अनुसार घटनास्थल साउने बजारदेखि ६ किलोमिटर तल पर्छ। घटनास्थलमा स्थानीय र प्रहरीको संयुक्त प्रयासमा नदी किनारको तलतलसम्म खोजी कार्य जारी रहेको छ।
केही दिनयता निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दो क्रममा छ। अन्य समयमा पनि पौडी खेल्ने गरेका बालबालिका पहिलाजस्तै ठानेर पौडी खेल्न पस्दा पानीको सतह बढेकाले डुबेर दुर्घटना भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्।