दिप्रुङमा आधारभूत अस्पताल र ‘हेल्लो डाक्टर’ कार्यक्रम उद्घाटन

दिप्रुङमा आधारभूत अस्पताल र ‘हेल्लो डाक्टर’ कार्यक्रम उद्घाटन

रोदिक खबर

१८, चैत्र २०८०
  • 8.0K
    SHARES
  • दिप्रुङमा आधारभूत अस्पताल र ‘हेल्लो डाक्टर’ कार्यक्रम उद्घाटन

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पाँच शैयाको आधारभूत अस्पताल र ‘हेल्लो डाक्टर’ कार्यक्रम उद्घाटन गरिएको छ । गाउँपालिकाको डाडाँगाउँस्थित ओख्रेको स्वास्थ्य चौकी भवनमा आईतबार एक कार्यक्रम गरी पाँच शैयाको आधारभूत अस्पताल र ‘हेल्लो डाक्टर’ कार्यक्रम एकैसाथ संविधानसभा सदस्य तथा अर्थ राजनीतिक विश्लेषक हरि रोकाले अस्पताल र ‘हेल्लो डाक्टर’ कार्यक्रमको ब्यानर बाचन र रिबन काटेर उद्घाटन गरेका हुन् ।

    प्राथमिक स्वास्थ्यचौकी डाँडागाउँको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा चौबीसै घण्टा स्वास्थ्य सेवा प्रवाह हुने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिए । प्राथमिक स्वास्थ्यचौकीको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा तत्कालका लागि एकजना मेडिकल अधिकृत डाक्टरसहित १४ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ”, अध्यक्ष राईले भने, “अस्पतालमा नियुक्त गरिएका स्वास्थ्यकर्मीहरुले चौबीसै घण्टा सेवा प्रवाह गर्छन् । यो पाँच शैयाको आधारभूत अस्पताललाई अन्य सुविधा सम्पन्न अस्पताल सरह सेवा दिनेगरी क्रमशः स्तरोन्नति गर्दै लैजाने योजना बनाएका छौँ ।”

    मेडिकल अधिकृत डाक्टर मन्दिप उप्रेतीको नेतृत्वमा स्थापना गरिएको आधारभूत अस्पतालमा ल्याब (रगत, खकार, दिशा, पिसाब, मौषमी फ्लु लगायत परीक्षण गर्ने प्रयोगशाला) तथा बर्थिङ सेन्टर (प्रसूतिगृह) समेत स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाको ३० लाख लगानीमा स्थापना गरिएको आधारभूत अस्पतालमा एकजना मेडिकल अधिकृत डा. उप्रेती, ल्याब असिष्टेन्ट जेनिशा राई र एकजना स्टाफ नर्स कार्यरत छन् । अस्पतालमा प्रत्येक बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ओपिडी सेवा र २४ सैं घण्टा आकस्मिक सेवा हुनेछ ।

    हालसम्म दिप्रुङ चुईचुम्माको कुनै पनि स्वास्थ्य चौकीहरुमा ल्याब सेवा थिएन । आधारभूत अस्पताल स्थापनासँगै ल्याब सेवा सुरु भएपछि जिल्ला अस्पताल दिक्तेल र गाईघाट जानुपर्ने बाध्यता हटेको छ । आफ्नै गाउँमा गाउँपालिकाकै लगानीमा फार्मेसीसहितको आधारभूत अस्पताल स्थापना भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

    सामान्य रोग परीक्षण एवम् उपचारका लागि जिल्ला अस्पताल खोटाङ तथा बाहिरी जिल्ला जानुपर्ने बाध्यता भोग्दै आएका सर्वसाधारण आफ्नै गाउँमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मी नियक्त गरेर आधारभूत अस्पताल स्थापना गरेपछि हर्षित भएका हुन् ।

    यस्तै, गाउँपालिकावासी नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले गत भदौदेखि ‘हेल्लो डाक्टर’ कार्यक्रमसमेत लागू गरेको छ । हेल्लो डाक्टर कार्यक्रममार्फत सात महिनाको अवधिमा एक हजार ४४२ जनाले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुस्ताक अहमत मन्सुरीले जानकारी दिए ।

    गाउँपालिकाले सञ्चालनमा ल्याएको हेल्लो डाक्टर कार्यक्रमको कार्यालयसमेत सोही आधारभूत अस्पतालमा राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सञ्चालन गर्दै आएको हेल्लो डाक्टर कार्यक्रम स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिरका बिरामीहरुका लागि प्रभावकारी भएको स्थानीय बासिन्दाले बताएका छन् । सात वडा रहेको उक्त गाउँपालिकामा हेल्लो डाक्टर कार्यक्रमका लागि पाँचजना स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्सुरीले बताए ।

    गाउँपालिकाद्वारा परिचालित स्वास्थ्यकर्मीहरुले बिरामीको घरघरमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । हेल्लो डाक्टर कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले हरेक नागरिकको घरमा पुगेर स्वास्थ्यकर्मीहरुको मोबाइल नम्बरसहितको भिजिटिङ कार्ड उपलब्ध गराएको छ ।

    स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्ने अवस्थाका गम्भीर र आकस्मिक किसिमका बिरामीलाई तत्काल उनीहरुको घरमै स्वास्थ्य सेवा उपलब्ध गराउन दिप्रुङ चुईचुम्मा गाउँपालिकाले जिल्लामै पहिलो र नयाँ ‘हेल्लो डाक्टर’ कार्यक्रम लागू गरेको हो ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष राईको अध्यक्षता तथा संविधानसभा सदस्य एवम् अर्थविद् हरि रोकाको प्रमुुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य केशवराज कार्की, नेकपा (एकीकृत समाजवादी) खोटाङका उपाध्यक्ष नरेशराज राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भुपेन्द्र बस्नेत, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाडाँगाउँका वडाध्यक्ष बद्री कटुवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्रकाशित मिति :चैत्र १८, २०८० आइतवार - २१:१८:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको