खोटाङ । खोटाङमा ‘दुर्व्यसन विरुद्ध आमाहरु’ अभियान सुरु भएको छ । जुनसुकै प्रकारको दुर्व्यसनवाट दुर्घट्ना हुनुभन्दा अगावै समाजमा सचेतना फैलाउने उद्देश्यले अभियान सुरुवात गरिएको हो।
घरमा बढीभन्दा बढी आमाहरु रहने र आफ्नो सन्ततीलाई सचेत गराउनमा उहाँहरुको अहम भूमिका हुनाले आमाहरुसँग अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए।
कोशी प्रदेश अन्तर्गतको यो अभियान खोटाङका प्रत्येक पालिकाहरुमा चल्नेछ, अभियानमा समाजका विभिन्न तह र तप्काका आमाहरु, स्थानीय सरकार, राजनीतिक दलहरु, विभिन्न संघसंस्थाहरुलाई सहभागी गराईनेछ प्रनाउ खड्काले भने यो अभियान दुर्व्यसनबाट भईरहेका समस्याहरुलाई रोकथाम गर्न हो। पहिला चाँहि आमाहरुलाई लागूऔषध, मदिरा, सुर्तीजन्य पदार्थहरु सेवन गर्न निरुत्साहित गर्नुपर्छ भनेर सचेत गराउँछौ।
घरैबाट यसको सुरुवात गर्नुपर्छ भन्ने तरिकावाट उहाँहरुसँग अन्तरक्रिया, छलफल हुन्छ, सहकार्य हुन्छ– प्रनाउ खड्काले भने, “यदि भईसकेको छ भने यसलाई कसरी रोकथाम गर्न सकिन्छ, प्रहरीलाई कसरी जानकारी गराउने अथवा उपचारका लागि के व्यवस्था गर्ने भन्ने विषयमा आमाहरुले भूमिका खेल्नुहुन्छ।”
जिल्ला प्रहरी कार्यालयको आयोजना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहकार्यमा अभियानको शनिबार जिल्ला प्रहरी कार्यालयबाट शुरु भएको प्रभातफेरी रत्नपार्कमा पुगेर समापन गरिएको थियो।
प्रभातफेरीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, विभिन्न आमा समूहमा आवद्ध आमाहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कार्यालय प्रमुख तथा प्रतिनिधि, निजी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए।