खोटाङ। खोटाङ दिक्तेलमा सञ्चालन गरिएको दुई दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । शिविरमा साढे पाँच सय बढी सेवाग्राहीले सेवा लिएका छन्।
शिविरमा ४५ जना मोतिया बिन्दुका बिरामीको शल्यक्रिया गरिएको थियो भने पाँच सय १५ जनाको आँखा जाँच तथा औषधि वितरण गरिएको नवदृष्टि आइका वरिष्ठ नेत्र विशेषज्ञ डा. विजय गौतमले बताए ।

जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आइ अस्पताल इटहरीको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो ।
शिविरमा जिल्लाका विभिन्न पालिका तथा टाढा टाढाका बस्तीहरूबाट समेत सर्बसधारणले सहभागिता जनाएका थिए । आँखा मानव शरीरको अत्यन्त महत्त्वपूर्ण अङ्ग मानिन्छ ।
उमेर बित्दै गएपछि उमेरजन्य कारण वा अन्य विभिन्न रोगका कारण आँखामा मोतिया विन्दुको समस्या आउने गरेको शिविरमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।
शिविरका लागि इटहरी स्थित नवदृष्टिबाट तेह्र जना नेत्र विशेषज्ञ सहितको टोली र फेमिली केयर अस्पताल खोटाङका डा के.के राई सहितको टोली शिविरमा संलग्न भएको थियो ।

शिविर समापनको अवसरमा दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई लगायतले जिल्लामा आएर सर्वसाधारणलाई सेवा प्रदान गरेको भन्दै आभार प्रकट गरेका थिए ।