शुक्रवार, भाद्र २६ गते २०८३

पत्रकार संघीयताको हिस्सेदार हुन : प्रदेश सभा सदस्य राई

पत्रकार संघीयताको हिस्सेदार हुन : प्रदेश सभा सदस्य राई

रोदिक खबर

१६, बैशाख २०८१
  • 3.1K
    SHARES
  • पत्रकार संघीयताको हिस्सेदार हुन : प्रदेश सभा सदस्य राई

    खोटाङ । कोशी प्रदेश सभा सदस्य भुपेन्द्र राईले नेपालको वर्तमान व्यवस्था ल्याउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङको सातौँ जिल्ला अधिवेशन तथा ११ औँ साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य राईले “सङ्घीयतालाई सही व्यवस्थापन गर्न नसक्दा नागरिकले चाहेको लाभ दिन कठिनाइ रहेकोे बताएका हुन् ।

    हामी सङ्घीयतालाई संस्थागत गर्न प्रयासरत छौँ”, प्रदेश सभा सदस्य राईले भने, “राम्रा कामहरूलाई पत्रकारले पत्रकारिताको माध्यमबाट बाहिर ल्याउनुपर्छ । खोटाङमा अधुरा योजनाहरुको चाँङ लागेका छन् । विभिन्न कारणले अधुरा रहेका योजनाहरुको काम पूरा गराउन पत्रकारको खबरदारी जरूरी गर्नुपर्छ, पत्रकारले औल्याएको कमी कमजोरीले व्यवस्थालाई बलियो बनाउने उनले बताए ।

    पञ्चायत कालदेखि नै हाम्रो पत्रकारिताको सिकाई नै विरोधको संस्कारले भएको छ । तर अब पछिल्ला समय पत्रकारिताको कलम नडमगाई परिमार्जन हुनुपर्नेमा उनले जोड दिए । युवा विदेशिएको मात्रै नभई विदेशबाट देश फर्केको समाचार पनि लेख्नुपर्छ । केही मात्रामै पनि भएका राम्रा कामहरू पत्रकारिताको माध्यमले बाहिर ल्याउनुपर्छ ।

    नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य राईले कोशी प्रदेश सरकारले विद्यायन समितिमार्फत पत्रकारको हकहितका निम्ति नीति बनाउनेमा आफ्नो योगदान रहने प्रतिवद्धता व्यक्त गरे । कोशी प्रदेश सरकारले विद्यायन समिति मार्फत पत्रकारको हकहितका निम्ति नीति बनाउनेमा आफ्नो योगदान रहने प्रदेश सांसद राईले प्रतिवद्धता व्यक्त गरेका छन् ।

    कार्यक्रमका विशिष्ट अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले अधिकतम् क्षेत्रको विकास भइरहँदा पनि नागरिक सन्तुष्ट नरहेको बताए ।

    नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ललिता साहले जिल्लाको समग्र क्षेत्रको विकासको पहरेदार रहेका पत्रकार र पत्रकारिता क्षेत्रको विकासमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले नीति निर्माण र कार्यान्वनसहितको अपनत्व देखाउनुपर्ने बताइन् ।

    काँग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीले राज्यको हरेक अङ्गलाई आफ्नो कर्तव्यप्रति सुसूचित गराउने कार्य प्रेस जगतले मात्रै गर्दै आएको बताए ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका सचिव सुरेन्द्रकुमार राईले आफ्ना नेताका राम्रा नराम्रा सबै खाले काम र व्यवहारलाई अनुमोदन गर्ने नियति भोग्दै आएको स्वीकार्दै त्यस्ता पाटोमा खबरदारी गर्न पत्रकारलाई आग्रह गरे ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य होमकाजी आचार्य ‘विनोद’ ले खोजमूलक समाचार उत्पादन तथा प्रशारणमा जोड दिन पत्रकारहरुलाई सुझाव दिए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष ललितकुमार राईले पत्रकार निश्पक्ष हुनुपर्नेमा जोड दिए राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पर्शुराम थापाले कार्यकर्तामुखी विकासले जिल्लाको विकासभन्दा बजेट सकाउने काममात्रै भएको तर्क गरे ।

     पत्रकार महासङ्घका कोशी प्रदेश समिति सदस्य लिला सुनुवारले मिडिया हाउस बलियो बनाइएमा मात्र पत्रकार र पत्रकारिता जोगिने बताए । वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले देशको प्रशासनिक आचरणमा सङ्घीयता ल्याउन जरूरी रहेको बताए । पत्रकार महासङ्घका पूर्व जिल्ला अध्यक्ष डम्बरसिं राईले पत्रकार कुनै पार्टी निकट भएपनि समाचारमा सन्तुलन कायम राख्नुपर्ने बताए ।

    दृश्य टेलिभिजनका अध्यक्ष टंक श्रेष्ठले पछिल्लो समय नेपाली पत्रकारिता र सञ्चार माध्यमहरु मुखपत्रको रूपमा विकास हुनु गलत भएको बताए । जिल्ला वार एशोसिएसन खोटाङका सचिव ओमप्रकाश घिमिरेले देश विकासको चौथो खम्बाको रूपमा रहेको पत्रकार र पत्रकारिताले विगतमा बिराएको बाटो आगामी दिनमा सच्याएर जानुपर्नेमा जोड दिए । कार्यक्रमका अधिकांश वक्ताहरुले पत्रकारिता जगत्लाई मर्यादित र जवाफदेही बनाएर अगाडि बढ्न पत्रकारहरुलाई सुझाव दिएका छन् ।

    उद्घाटनसत्रमा पत्रकार महासङ्घका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोतम खड्का, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक कृष्णबहादुर बम, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष दमन राई, पत्रकार भीम राई, पेशागत सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको अध्यक्ष खत्रीले बताए ।

    अध्यक्ष खत्रीका अनुसार उक्त कार्याक्रमको अवशरमा महासङ्घले जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरेको छ । महासङ्घलेगोरखापत्र दैनिकका खोटाङ सम्वाददाता राजकुमार भट्टराई र रुपाकोट साप्ताहिक खबर पत्रिकाका सम्वाददाता सविना परियारलाई जनही पाँच÷पाँच हजार राशिको नगद पुरस्कार प्रदान गरेको हो ।

    प्रकाशित मिति :बैशाख १६, २०८१ आइतवार - ०८:०२:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको