खोटाङ । नेपाल पत्रकार महासङ्घले जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ शाखा खोटाङले महासंघको सातौं जिल्ला अधिबेसन तथा ११ औं साधारणसभाको अवसर पारेर शनिबार गोरखापत्र दैनिकका खोटाङ सम्वाददाता राजकुमार भट्टराई र रुपाकोट साप्ताहिक खबर पत्रिकाका सम्वाददाता सविना परियारलाई जनही पाँच/पाँच हजार राशिको नगद पुरस्कार प्रदान गरेको हो ।
जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा पत्रकार भट्टराई र अछामेलाई प्रमुख अतिथिका रुपमा प्रदेशसभा सांसद भुपेन्द्र राई र विशिष्ट अतिथि सनबहादुर राईले पुरस्कार हस्तान्तरण गरेका थिए ।
जिल्लामा बसेर पत्रकारिताको माध्यमबाट नागरिकलाई सुसूचित गर्दै समाज रुपान्तरणमा पु¥याएको योगदानको कदर गर्दै दुईजना पत्रकारलाई पुरस्कृत गरिएको पत्रकार महासङ्घका अध्यक्ष दिलीप खत्रीले जानकारी दिए । प्रेस स्वतन्त्रता सेनानी पत्रकार कृष्ण आचार्य संयोजकत्वको तीन सदस्यीय पुरस्कार छनौट समितिको सिफारिसमा महासंघले पत्रकारद्धयलाई पुरस्कार प्रदान गरेको हो ।
२०७५ सालदेखि पत्रकारिता सुरु गरेका भट्टराई जिल्लामा रुपाकोटखबर डटकम सञ्चालन गर्छन् । यस्तै २०७४ सालदेखि पत्रकारितामा लागेकी अछामे नमस्ते खोटाङ डटकममा पनि आवद्ध छिन् । महासंघले हरेक अधिबेसनको अवसरमा क्रियासिल पत्रकारलाई पुरस्कार प्रदान गर्दैआएको छ ।
पत्रकार महासङ्घले स्थापना गरेको एक लाखको अक्षयकोषबाट आएको ब्याजले हरेक तीन/तीन वर्षमा दुई/दुईजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको महासङ्घका अध्यक्ष खत्रीले बताए ।