खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जनका लागि सहजकर्ता तयार पारेको छ । नगरपालिकाले २०७८ सालमा प्रकाशनमा ल्याएको स्थानीय पाठ्यक्रम परिमार्जन गर्दै संघीयताको मर्म अनुसार हरेक वडामा छुट्टाछुट्टै विषयवस्तु समेटिएको स्थानीय विषयको पाठ्यक्रम तयार पार्नका लागि सहजकर्ता उत्पादन गरेको हो ।
यसअघि तयार पारिएको स्थानीय पाठ्यक्रम अन्तरगत कक्षा १ देखि कक्षा ५ सम्मको दिरुम ज्ञानमालालाई नगरभरीका विद्यालयमा पठनपाठन गर्दै आइएकोमा अव हरेक विद्यालयमा आआफ्नै विशिष्टतामा स्थानीय विषयको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्ने र प्रयोगमा ल्याउने कार्यमा सहजीकरण गर्न सक्षम सहजकर्तालाई तालिम दिइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
सकेसम्म स्वयं विद्यालयलाई नै आफ्नै खालको स्थानीय विषयको पाठ्यक्रम तयार गर्न सक्षम बनाउने लक्ष्यका साथ नगरपालिकाले बैसाख १४ र १५ गते शुभम फाउण्डेसनमा स्थानीय पाठ्यक्रम परिमार्जन तथा सहजकर्ता उत्पादन कार्यशाला आयोजना गरेको थियो ।
नगरपालिकाले शैक्षिक अभियान्ता सुर्य राईको संयोजकत्वमा गठन गरेको शिक्षा सुधार कार्यदलको सहयोगमा नगरका १५ वटै वडामा तीनरतीन जना पाठ्यक्रम निर्माण सहजकर्ता उत्पादन गर्नेगरी कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा स्थानीय पाठ्यक्रम वारे सुझबुझ भएका र सक्षम विव्यास अध्यक्ष, प्रअ र शिक्षकलाई सहभागी गराइएको नगरपालिकाले जनाएको छ ।
कार्यशालामा सहभागी भएर फर्किएका सहजकर्ताले आआफ्नो वडामा स्थानीय पाठ्यक्रम निर्माण गर्न छलफल, सहयोग र सहजीकरण गर्ने शिक्षा सुधार कार्यदलका संयोजक राईले बताए । नगरपालिकाले शिक्षा मन्त्रालयका पूर्व उपसचिव भरत श्रेष्ठलाई प्रशिक्षकको रुपमा ल्याएको छ ।
सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि नगरपालिकाले क्रमशः निरन्तर विद्यार्थी मुल्यांकन, राष्ट्रिय पाठ्यक्रमको प्रयोग, विद्यालय योजना, परियोजना कार्य, प्रविधि, खेल तथा संगीत लगायतका विषयमा पनि क्रमशः कार्यशाला गर्ने योजना बनाएको छ ।