दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा

रोदिक खबर

२१, जेठ २०८१
  • 2.1K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नेपाल सरकारले १६ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएको सबै १३ वटा रोगविरुद्धको खोप नगरपालिकाका सबै बालबालिकाले पाएको सुनिश्चित भएपछि सोमबार नगरपालिकालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

    नगरपालिकाभित्रका सबै ५ सय बालबालिकाले सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप पाएको सुनिश्चित भएको नगर प्रवक्ता एवम् वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले जानकारी दिए ।

    जिल्ला खोप समन्वय समिति खोटाङले परीक्षण गर्दासमेत नगरपालिकाका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएसँगै नगर स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका थिए ।

    नेपाल सरकारबाट निःशुल्क प्राप्त गरिने सबै प्रकारका खोप नगरपालिकाका सबै बालबालिकाले पाएको सुनिश्चित भएपछि जिल्ला खोप समन्वय समितिले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्रसमेत दिएको छ ।

    पूर्ण खोप सुनिश्चितता नगर घोषणा कार्यक्रममा नगर स्वास्थ्य शाखाले वडा स्वास्थ्य शाखाहरुलाई समेत पूर्ण खोप सुनिश्चितता वडाको प्रमाणपत्र उपलब्ध गराएको छ । कार्यक्रममा सहभागीले पूर्ण खोप सुनिश्चित नगर घोषणा तथा दीगोपना कायम गर्नका लागि सामुहिक प्रतिवद्धतापत्र हस्ताक्षरसमेत गरेका छन् ।

    नेपाल सरकारले लागू गरेको राष्ट्रिय कार्यक्रमलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धतासहित जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, सङ्घसंस्था, नागरिक समाज, पत्रकार लगायतले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई वि.सं. २०७४ जेठ–१४ गते पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको थियो । नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरेपछि हरेक वर्ष पूर्ण खोप सुनिश्चितता नगर घोषणा गर्नेगरी ४५ वटा खोप केन्द्रमार्फत बालबालिकालाई नियमित खोप उपलब्ध गराउने गरिएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए ।

    यसअघि साकेला गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले समेत आ–आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी गरेको जिल्ला खोप समन्वय समिति खोटाङले जनाएको छ ।

    नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत खोटाङ जिल्लालाई आगामी असार–१० गतेभित्र पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चम्लागाईँले जानकारी दिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नियमित खोप लगाउने १२ हजार बालबालिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    वि.सं. २०७४ पुस–१४ गते खोटाङलाई ३१ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष खोटाङमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

    नेपाल सरकारले जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जन्मेदेखि दुई वर्षभित्रका ९५ प्रतिशत बालबालिका सबै प्रकारका खोप पाएको खण्डमा सरकारले पूर्ण खोप सुनिश्तिता भएको घोषणा गर्ने गरेको छ ।

    प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - २३:०३:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको