खोटाङ । खोटाङको दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलनको आयोजना गरिने भएको छ । कृषि, घरेलु सामाग्री तथा सांस्कृतिक रुपमा उपयोगी बाँसलाई अब व्यवसायीक, औद्योगिक र पर्यावरणसँग जोडेर बासको वृहत्तर उपयोगिता र महत्वलाई उजागर गर्ने उद्देश्यले आगामी कात्तिक २ देखि ४ गतेसम्म खोटाङको दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलनको आयोजना गर्न लागिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।
बाँसलाई जीवन उपयोगी बनाउँदै पर्यावरण संरक्षण, स्थानीय स्तरदेखि नै बाँसको उत्पादन, विकास र रोजगारी सिर्जना गर्ने सन्देश प्रवाह गर्न बाँसको सम्मेलन गर्न लागिएको राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।
राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष भट्टराईका अनुसार बाँस सम्मेलनमा बाँसको क्षेत्रमा सोधकर्ता, अनुसन्धानकर्ता, बाँस व्यवसायी, कृष, तथा विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी रहने तथा सम्मेलनमा बाँसका विभिन्न प्रजातीहरुको जानकारी, वृक्षारोपण तथा बाँसका सामाग्रीहरुको प्रदर्शनी समेत गरिने छ ।
शनिवार काठमाडौंमा भएको कार्यक्रममा पूर्व मन्त्री डा.कल्याणी साह, पूर्वमन्त्री गणेश साह, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराई, काठमाडौं विश्वविद्यालयका बाँस विज्ञ डा.विष्णुमाया के.सी, काठमाडौं वन विज्ञान क्याम्पसका उप प्राध्यापक डा.हिमलाल श्रेष्ठ, बाँस व्यवसायी प्रणव श्रेष्ठ, बाँस अनुसन्धान विज्ञ सन्तोष दाहाल, उद्यमी सुनिता म्हेम्हाफुकी, समाजसेवी डा.चिरञ्जिवी भट्टराई, नवकिरण उर्जाका राष्ट्रिय अध्यक्ष गुणराज ढकाल, सदस्य सचिव रामहरी गिरी लगायतको उपस्थिति रहेको थियो ।