खोटाङ । खोटाङमा मध्यपहाडी लोकमार्गमा पर्ने दुई वटा पुल समय अगावै निर्माण गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको भालुखोला र छेपेखोलामा सम्झौताभन्दा एक महिना अगाडि नै पुल निर्माण गर्ने केएम इन्जिनियर्स विल्डर्सका प्रवन्ध निर्देशक मोहन कार्कीलाई सम्मान गरिएको हो ।
जिल्लामा महत्वका आयोजनाको निर्माणमा चरम ढिलासुस्ती भइरहेकाबेला समयभन्दा अगाडि नै मध्यपहाडी लोकमार्गको पुल निर्माण गरेकोमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण व्यवसायीलाई बोलाएर सम्मान गरेको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले टोपी र फूलमाला लगाइदिएर सम्मान–पत्र प्रदान गरेका छन् ।

जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा निर्माण व्यवसायीलाई सम्मान गरिएको हो । केएम इन्जिनियर्स विल्डर्सले २०८१ असार २२ गतेसम्ममा सक्नेगरी २०७९ असार २२ गते पुल निर्माण गर्ने सम्झौता गरेको थियो । भालुखोला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ सोल्मा र छेपेखोला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा पर्छ ।
आफ्नो क्षेत्रभित्रको पुल सम्झौताभन्दा अगाडि नै बनेको भन्दै नगरपालिकाले निर्माण व्यवसायीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । नगरपालिकाले नगरभित्रका सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाहीका लागि सिफारिस गर्नेदेखि मेसिनमा ताला हाल्नेसम्मका प्रतिक्रिया जनाउँदै आएको छ ।
ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाहीका लागि सिफारिस गरेको नगरपालिकाले समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई भने सम्मान गरेको हो ।
