खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दूध डेरी सञ्चालनमा ल्याएको छ । किसानहरुको सहजताकोलागि नगरपालिकाले सञ्चालनमा ल्याएको डेरी शुक्रबार औपचारिकरुपमा उद्घाटन गरिएको छ । डेरी सञ्चालनमा आएसँगै अब दूध विक्रीवितरणमा किसानलाई समस्या हुने छैन् । नगरपालिकाको स्वामित्वमा रहनेगरी निजी उद्यमी संस्थालाई डेरी सञ्चालन गर्न दिइएको नगरपालिकाले जनाएको छ ।
वडा नम्बर ७ महादेवस्थान वडा कार्यालयको एउटा सटर मासिक ८ हजार भाडामा लिएर निजी संस्थाले डेरी सुरु गरेको हो । डेरी व्यवस्थापनमा नगरपालिकाको लगानी रहेको नगरप्रमुख विमला राईले बताइन् । टेण्डरमार्फत डेरी सञ्चालनको जिम्मा लिएका स्थानीय व्यवसायि एगिन्द्र राईले किसानले जति धेरै दूध ल्याएपनि डेरीमा खरिद गरिने बताए ।
हलेसी बजारमा बेकरीसमेत सञ्चालन गरिरहेका राईले डेरीबाट दूध, दहि, महीसँगै पनिर, खुवा, पेडा, हलेसी प्रसाद, गुडपात, रसवरी लगायतका दुग्ध परिकार तयार गरेर विक्री गर्ने सुना । किसानले उत्पादन गरेको दूध खेर नजाने उनको भनाइ छ । चालू आर्थिक वर्ष २०८०/८१ र गत आर्थिक वर्ष २०७९/८० गरी दुई आर्थिक वर्षमा नगपालिकाले ९४ जना किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ ।
व्यवसायिक बनाउन २ वटा भैंसी पालिरहेका किसानलाई थप एउटा भैंसी अनुदानमा नगरिपालिकाले प्रदान गरेको हो । धमाधम दूध उत्पादन गर्न सुरु गरेका किसानको बजारीकरणकोलागि दूध डेरी सञ्चालनमा ल्याइएको नगरप्रमुख राईले बताइन् ।
“हाल नगरपालिकाका १०० किसानको घरमा ३ वटा भन्दा बढी भैंसी छ । उनीहरुले उत्पादन गरेको दूध बजारीकरणकोलागि डेरी सञ्चालनमा ल्याएका छौँ ।” नगरप्रमुख राईले भने, “गाउँ गाउँका उद्यमीहरुलाई दूध संकलन गरेर हलेसी बजारसम्म ल्याउने व्यवस्था मिलाउदै छौँ, यहाँ ल्याएपछि डेरीले खरिद गर्छ, र उसले बजारीकरण गर्छ ।”
किसानले उत्पादन गरेका कृषि उपज बजारीकरणकोलागि नगरपालिकाले यसअघिनै हलेसी कृषि मार्ट पनि सञ्चालनमा ल्याइसकेको छ । कृषिलाई पर्यटनसँग जोडेर हलेसीका नागरिकलाई आत्मनिर्भर बनाउने उदेश्यसहित हाल दूध डेरी सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ ।
त्रि–धार्मिक स्थल हलेसीमा विश्वका भक्तजनहरु आउछन् । कतीपय भक्तजनहरु माछा मासु नखाने भएकाले दूधबाट बनेका परिकार रुचाउछन् । तर, नजिकैका केही किसानले मात्र अहिलेसम्म बजारमा ल्याएर दूध विक्री गर्ने गरेका छन् । दूध डेरी सञ्चालनमा आएसँगै नगर भरिका किसानको दूध विक्री हुने र किसानहरुले दूधमार्फत आम्दानी गर्ने आशा गरिएको छ । दूध डेरी उद्घाटन गर्दै नागरप्रमुख विमला राई लगायत ।