खोटाङ । खोटाङको साकेला गाउँपालिकाले ३१ करोड २२ लाखको बजेट सार्वजनिक गरेको छ । सुसंस्कृत, संस्थागत र समृद्ध साकेला भन्ने मूल नाराका साथ सोमबार सम्पन्न १४ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि गाउँपालिकालाई वित्तिय समानिकरण अनुदान अन्तर्गत ६ करोड ९३ लाख, राजश्व बाँडफाँडबाट ६ करोड ३८ लाख रकम प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै, सशर्त अनुदान अन्तर्गत १४ करोड ४३ लाख ८ हजार तथा समपुरक अनुदान अन्तर्गत ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ३९ लाख ५९ हजार, सवारी करबाट २६ लाख ५१ हजार, प्रदेश सशर्त अनुदानतर्फ ३९ लाख ५९ हजार तथा समपुरक अनुदान १ करोड रुपैयाँ प्राप्त भएको छ ।
गाउँपालिकाको आन्तरिक आम्दानी २५ लाख रुपैयाँ प्रक्षेपण गरिएको जानकारी दिइएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले तावाभञ्ज्याङ क्षेत्रमा वृहत्तर पर्यटन पूर्वाधार, तावाताल, धार्मिक पार्क, सांस्कृतिक गाउँ लगायतको डिपिआर तयार गरी साँस्कृतिक गाउँ निर्माणको काम सुरु गरिएको जानकारी दिए । उनले मपारुङ, धन्नेश्वरी गुफा, साकेलापार्क, लामदुवाली, तावादोभानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने उल्लेख गरे ।
बसाई सरेर आउनेलाई पाँच हजार
साकेला गाउँपालिकाले अन्यत्रबाट बसाई सरेर आउने परिवारलाई पाँच हजार पुरस्कार कार्यक्रमलाई निरन्तरता दिएको छ । बसाइ सराईका कारण दिनानुदिन जनसंख्या घटिरहेको अवस्थामा गाउँपालिकाले बसाई सराई रोक्नकालागि आर्थिक वर्ष २०८०र०८१ देखि बसाई सरेर आउने परिवारलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको थियो । गाउँपालिकाले जनसंख्यालाई सन्तुलनमा राख्नका लागि अन्यत्रबाट बसाईसरी आउने परिवारलाई सम्मान स्वरुप रकम उपलब्ध गराउने नीति अघि सारेको हो ।